काठमाडौँ – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । रोजगारी तथा अध्ययनका सिलसिलामा संघीय राजधानी काठमाडौँ तथा देशका अन्य मुख्य सहरमा बसोबास गर्दै आएका मतदाता (नागरिक) मतदानका लागि आफ्नो गृहजिल्लामा फर्किने तयारीमा छन् । मतदानका लागि घर फर्किनेहरूका कारण सडकमा चाडपर्वको समयमा जस्तै चाप बढ्ने गर्छ । त्यसका लागि सडक मर्मत गरेर आवागमन सहज बनाउन यातायात व्यवसायीहरूले सडक विभागलाई आग्रह गरेका छन् । उनीहरूको आग्रहपछि सडक विभागले निर्वाचनलाई लक्षित गरेर देशभरका सडक डिभिजनहरूलाई खाल्डाखुल्डी पुर्न सर्कुलर जारी गरेको छ । विभागका महानिर्देशक विजय जैसीले सडक मर्मतको काम द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए । ‘हामीले सबैलाई सर्कुलर गरिसकेका छौँ । सम्भार महाशाखा प्रमुख श्याम खड्कासहितको टोली यसमा खटिएको छ,’ महानिर्देशक जैसीले भने, ‘मुख्य–मुख्य सडकमा जहाँ–जहाँ खाल्डाखुल्डी (पटहोल) छन्, त्यहाँ मर्मतको काम सुरु भइसकेको छ । नियमित मर्मत सम्भार हुने भएकाले निर्वाचनका लागि भनेर छुट्टै बजेट विनियोजन नभएको महानिर्देशक जैसीले स्पष्ट पारे । उनका अनुसार विभागको नियमित मर्मत चक्र (मेन्टिनेन्स साइकल अनुसार नै अहिले काम भइरहेको छ । काठमाडौँलाई जोड्ने लाइफ लाइन सडकको रुपमा नागढुंगा–मुग्लिन सडक विभिन्न खण्डमा विभाजन गरी विस्तार अघि बढाइएको छ । यसका केही खण्डको विस्तार कार्य अन्तिम चरणमा पुग्न लागेको छ भने केही ५० प्रतिशत हाराहारीमा छन् । गत वर्षको असोजमा मुग्लिन नजिकै रहेको तुइन खोला छेउमा सुक्खा पहिरो खसेको थियो । उक्त पहिरो गएको स्थान अझै जोखिमयुक्त छ । तर उक्त क्षेत्रमा पहिरो रोकथामका लागि काम सुरु भएको छैन । यसैगरी अन्य जोखिमयुक्त स्थान झ्याप्लेखोला पहिरो, कृष्णभीरलगायतका स्थानमा मर्मतकार्य जारी छ । यस्तै मुग्लिन–पोखरा, मुग्लिन नारायणगढ सडक पनि लामो समयदेखि विस्तारका क्रममा छन् । यी सबै सडकमा यातायात सहज बनाउन विभागले खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ ।साभार : रापा












