काठमाडौं – आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ । हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । २१ माघबाट निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ’ सहायक रथी बस्नेतले भने । निर्वाचन लक्षित गरेर देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरुले आवश्यकता अनुसार गस्ती पेट्रोलिङ गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेत भन्छन् । मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो । ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो । अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छन् ।
कति सुरक्षाकर्मी खटिन्छन् ?
आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । सेनाका प्रवक्ता बस्नेतकाअनुसार नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् । प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् । उनीहरुको अहिले तालिम सुरु भइसकेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनका क्रममा खटिने गृह मन्त्रालयले बताएको छ ।साभार : अखप












