स्थिर छैनन् काठमाडौं उपत्यकाका मतदाता…..

काठमाडौं –       आठ वर्षअघि अर्थात २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं उपत्यकाका १५ मध्ये ९ सिट जितेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण हुने घोषणाका साथ चुनावी तालमेल गरेका थिए र त्यसको नतिजा निर्वाचनमा देखिएको थियो । त्यतिबेला उपत्यकामा कांग्रेसले ४, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले १/१ सिटमात्रै जिते । पाँच वर्षपछि २०७९ सालको निर्वाचनमा एमाले उपत्यकाका १५ मध्ये दुई ठाँउमा सीमित भयो । निर्वाचनको केही महिनाअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच ठाँउमा निर्वाचित भयो भने कांग्रेसले सातवटा सिट जित्यो । काठमाडौं उपत्यकामा कांग्रेस, एमाले र माओवादी केन्द्रको मत प्रत्यक्ष र समानुपातिक दुवैमा २०७४ को तुलनामा उल्लेख्य घटेको थियो । २०७४ को तुलनामा २०७९ सालमा पुराना नेताहरु अधिकांशले कि दोहोरिएन उम्मेदवारी दिएनन्, दिएकाहरु पनि पराजित भए । २०७४ सालमा विवेकशील साझा पार्टीमा व्यक्त भएको राजधानीबासीको असन्तुष्ट मत २०७९ मा आइपुग्दा त्यहाँबाट समेत सोहोरिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा पोखिएको थियो । रास्वपाले काठमाडौंमा पाँच सिटमात्रै जितेन, कयौं क्षेत्रमा समानुपातिकतर्फ पहिलो र दोस्रो नै बनेको थियो । २०७४ सालको तुलनामा २०७९ सालमा बढी मत पाएर निर्वाचित हुनेमा भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र ललितपुर–१ का उदयशम्सेर जबरामात्रै हुन् । काठमाडौं–४ मा निर्वाचित गगन थापाको मत सांकेतिक रुपमा भने घटेपछि स्थिर देखिन्थ्यो । समानुपातिकतर्फको प्रवृत्ति हेर्ने हो भने २०७४ को तुलनामा २०७९ मा सबैजसो निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रकै भोट उल्लेख्य रुपमा घटेको थियो । २०७४ सालमा विवेकशील साझा पार्टीले पाएको ‘वैैकल्पिक रुझानयुक्त मत’ २०७९ सालमा त्यो भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको थियो । कुनैकुनै ठाँउमा कांग्रेस, एमाले र माओवादीहरुको समानुपातिक भोट आधासम्मले घटेको थियो । र, कयांै निर्वाचन क्षेत्रहरूमा समानुपातिकतर्फ रास्वपा पहिलो दल नै बनेको थियो । अघिल्लोपटक काठमाडौंमा राप्रपाले पनि आफ्नो मत बढाएको थियो । जेनजी आन्दोलनका कारण साढे तीन वर्षमै हुन लागेको यो निर्वाचनमा यसअघि जस्तो कांग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन छैन । कांग्रेस, एमाले आ–आफ्नै ढंगले प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका बाम घटकहरु मिलेर नेपाली कम्यूनिष्ट पार्टी(नेकपा) गठन गरेर उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर चुनावी अभियानमा छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार