२६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता…..

काठमाडौं –     देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो । कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजसो चर्चित नेता निकै पछि परेका छन् । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ । रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ को मतगणना सकिंदा  रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका सुभास पाण्डे (विश्वदीप)ले ३५ मत पाएका निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन् । यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् ।  यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् । बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन् ।साभार : अखप

 

साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार