कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण…..

काठमाडौं –      मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ । कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यो आक्रमण इजरायलले इरानको ’साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको बमबारीको बदलास्वरूप गरिएको मानिएको छ । कुवेतका साथै आजै बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि इरानले मिसाइल र ड्रोन प्रहार गरेको छ, जसले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ ।

श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन:

श्रीलंकाले आफ्नो विमानस्थलमा लडाकु विमान अवतरण गर्न गरेको अमेरिकाको अनुरोध अस्वीकार गरेको जनाएको छ । शुक्रबार श्रीलंकाको संसद्मा राष्ट्रपति अनुरा दिसानायकेले आफ्नो देश तटस्थ नीतिलाई कडाइका साथ पालन गर्ने बताउँदै अमेरिकाको अनुरोध अस्वीकार गरेको बताएका छन् । श्रीलंकन सञ्चार संस्था डेली मिररको समाचारअनुसार श्रीलंकासँग इरानले तीनवटा जहाज सद्भावना भ्रमणका लागि आउन अनुरोध गरेको र अमेरिकाले मत्ताला विमानस्थलमा आफ्ना दुई लडाकु विमान अवतरण गर्न अनुरोध गरेका थिए । ती दुवै प्रस्ताव अस्वीकार गरेको कुरा राष्ट्रपति दिसानायकेले संसदलाई जानकारी दिएका हुन् । श्रीलंकाले अमेरिका र इरान दुवैको अनुरोध अस्वीकार गर्दै तटस्थता कायम राखेको छ,’ दिसानायकेले भनेका छन् । उनले कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।साभार : अखप

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार