काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका छन् । नेपालको संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री बनेका भएका हुन् । शुक्रबार गठित बालेन नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र युवा अनुहारको वर्चस्व छ । गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना छन् । ३६ वर्षीय प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका बालेनले करिब साढे ३ वर्ष महानगरको नेतृत्व गरे । यसपटकको निर्वाचनमा महानगरको नेतृत्व छाडेर झापा ५ बाट रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो । झापा-५ बाटै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार थिए । पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आएका बालेन प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । र्यापर पनि हुन् ।
१५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्ष मुनिका:
बानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा ४० वर्ष मुनिका युवाहरूको वर्चस्व छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्षमुनिका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ३६ वर्षका छन् । कानुनमन्त्री सोबिता गौतम ३० वर्षकी छन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्षका हुन् भने शिक्षामन्त्री सम्मित पोखरेल २९ वर्षका भए । स्वास्थ्यमन्त्री निशा मेहता ३८ वर्ष भइन् भने श्रममन्त्री दिपक शाह ३४ वर्षका छन् । समान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२, गृहमन्त्री सुधन गुरुङ ३८, महिला मन्त्री सिता वादी ३० र कृषिमन्त्री गीता चौधी ३२ वर्षकी छन् । मन्त्रिपरिषद्मा सबैभन्दा पाका स्वर्णिम वाग्ले हुन् । उनी ५१वर्षका भए । परराष्ट्रमन्त्री शिशिर खनाल ४७, उर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४, पर्यटनमन्त्री खड्कराज पौडेल र सञ्चारमन्त्री विक्रम तिमिल्सिना ४३ वर्षका छन् ।साभार : अखप












