ट्रम्पको चेतावनी र इरानका सर्तबिच इस्लामाबादमा शान्ति वार्ता…..

इस्लामाबाद –     अमेरिका र इरानबिचको शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। तर, वार्ता सुरु हुनुअघि नै इरानले आफ्ना पूर्वसर्तहरू पूरा हुनुपर्ने अडान राखेपछि अन्तिम समयमा आएर वार्ता सफल हुनेमा आशङ्का उब्जिरहेको छ। इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकाले यसअघि रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनानमा युद्धविराम गर्ने सहमति जनाएको दाबी गर्दै ती प्रतिबद्धता पूरा नभएसम्म वार्ता सुरु नहुने स्पष्ट पारेका छन्। सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीको नेतृत्वमा रहेको करिब ७० सदस्यीय इरानी टोली इस्लामाबाद पुगेको हो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो टोलीमा आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रका प्राविधिक विशेषज्ञदेखि सञ्चारकर्मीहरूसम्म सहभागी छन्। इस्लामाबाद पुगेपछि गालिबाफले इरान वार्ताका लागि सकारात्मक भए पनि अमेरिकामाथि कुनै विश्वास नरहेको बताए। अमेरिकाले इरानको अधिकार सुनिश्चित गर्दै वास्तविक सम्झौताको प्रस्ताव ल्याएमा मात्र सहमति हुने उनको भनाइ छ। यता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै इरानीहरू बाँचेकै वार्ता गर्नका लागि भएको बताएका छन्। ट्रम्पले लेखेका छन्, ‘इरानीहरूसँग अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेर छोटो समयका लागि विश्वलाई ब्ल्याकमेल गर्नेबाहेक अरू कुनै विकल्प छैन भन्ने उनीहरूले बुझेका छैनन्। उनीहरू आज जीवित हुनुको एउटै मात्र कारण वार्ता गर्नु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ हप्ता लामो युद्धपछि मङ्गलबार दुई हप्ते युद्धविरामको घोषणा गरेका थिए। ट्रम्पले इरानको अस्तित्व नै नामेट पारिदिने चेतावनी दिएको केही घण्टापछि मात्रै यो युद्धविराम लागू भएको थियो। युद्धविरामसँगै इरानमाथि अमेरिका र इजरायलले गर्दै आएका हवाई आक्रमण रोकिएका छन्। यद्यपि, इरानले स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दी भने हटाएको छैन। यसले गर्दा विश्वव्यापी ऊर्जा आपूर्तिमा अहिलेसम्मकै ठूलो सङ्कट पैदा भएको छ। अर्कोतर्फ, इजरायल र इरान समर्थित लेबनानी लडाकु समूह हिज्बुल्लाहबिचको युद्ध पनि रोकिएको छैन। वार्ताको नेतृत्व गर्न लागेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तान प्रस्थान गर्दै गर्दा सकारात्मक नतिजा आउने अपेक्षा गरे पनि इरानले चलाखी गर्न खोजे अमेरिकी टोली कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शुक्रबार राति देशबासीलाई सम्बोधन गर्दै यो वार्तालाई ‘बनाउने वा बिगार्ने’ महत्त्वपूर्ण र कठिन चरणको रूपमा अर्थ्याएका छन्। यसैबीच, इजरायली र लेबनानी राजदूतहरूबिच वासिङ्टनमा वार्ता हुने तय भएको छ। तर, वार्ताको एजेन्डालाई लिएर दुवै पक्षका फरक-फरक भनाइ बाहिर आएका छन्। लेबनानले यो वार्तालाई युद्धविरामको घोषणा गर्ने र अमेरिकी मध्यस्थतामा द्विपक्षीय वार्ता सुरु गर्ने दिशामा अघि बढेको बताएको छ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार