अमेरिकामा राखेको अर्बौँको सुन किन फिर्ता लान चाहन्छन् युरोपेली देशहरु ?…..

काठमाडौं –     न्यूयोर्कको लिबर्टी स्ट्रिटमा जमिनबाट करिब २५ मिटर तल अमेरिकाको केन्द्रीय बैंक फेड्रल रिजर्भ अर्थात फेडको एउटा गोदाम छ। सो गोदाममा संसारभरका केन्द्रीय बैंक, सरकार र संस्थाहरूको स्वामित्वमा रहेका पाँच लाखभन्दा बढी वटा सुनका बिस्कुट सुरक्षित रुपमा राखिएको छ। सो भण्डार ९० टन तौल भएको एउटा स्टील सिलिन्डरले सुरक्षित गरिएको छ। अनि एकपटक बन्द भएपछि सो भल्टको विशाल ढोका अर्को दिनसम्म खोल्न सकिँदैन। यो संसारकै सबैभन्दा ठूलो सुन भण्डार हो जहाँ राखिएका गोल्ड बारको तौल करिब ६ हजार ३०० टन छ। उक्त सुनको मूल्य एक ट्रिलियन डलरभन्दा बढी पर्छ। यो अमेरिकाको जिडिपीको करिब ४ प्रतिशत बराबर हुन्छ। उक्त स्वर्ण भण्डारले विश्व वित्तीय प्रणालीको स्थिरतामा महत्वपूर्ण भूमिका खेल्छ किनकि धेरै देशहरूले आफ्नो सुन त्यहीँ राखेका छन्। यस्तो सुनले उनीहरूको मुद्रा बलियो बनाउन र कठिन समयमा अन्तिम सुरक्षित सम्पत्तिको रूपमा काम गर्छ। सुनलाई लामो समयदेखि आर्थिक संकट, मुद्रास्फीति वा भू-राजनीतिक अस्थिरताका बेला सुरक्षित लगानी मानिन्छ। त्यसैले यो विश्वभरका केन्द्रीय बैंकहरू र विशेषगरी युरोपेली बैंकहरूको मौज्दातमा महत्वपूर्ण अंश हो। अमेरिकाको बर्कले विश्वविद्यालयका विज्ञ ब्यारी आइकेनग्रिनका अनुसार यो उनीहरूको सबैभन्दा महत्वपूर्ण सम्पत्तिमध्ये एक हो । किनकि कठिन अवस्थामा यसले देशहरूलाई बैंक र कम्पनीहरूको अन्तिम ऋणदाता बन्न र विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्न मद्दत गर्छ। विगतमा खासगरी युरोपेली देशहरुले यस्तो सुनको सुरक्षाका लागि अमेरिका र फेड्रल रिजर्भलाई सबैभन्दा भरपर्दो संरक्षक मान्दथे। शितयुद्धकालमा सोभियत संघबाट खतरा महसुस गरेका युरोपेली मुलुकहरुका लागि आफ्नो सुन अमेरिकामा राख्नु सबैभन्दा ढुक्कको कुरा थियो। तर दोश्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प पुनः अमेरिकाको सत्तामा फर्किएपछि युरोपेली नेताहरू र विज्ञहरूले न्युयोर्कको सो गोदामबाट आफ्नो सुन फिर्ता लैजाने सम्भावनाबारे कुरा गर्न थालेका छन्। हालका महिनाहरूमा ट्रम्प र युरोपेली सहयोगीहरूबीच विभिन्न मुद्दाहरूमा मतभेद देखिएका छन्। त्यसमध्ये अन्तर्राष्ट्रिय सन्धी सम्झौता तथा प्रतिबद्धता, ट्यारिफ, ग्रीनल्यान्डको मुद्दा र इरानसँगको तनावमा युरोप र अमेरिका एक प्रकारले आमनेसामने छन्। यी मतभेदहरूले अमेरिकामा राखिएको युरोपेली सुनको सुरक्षाबारे पनि चिन्ता बढाएको छ।

युरोपको सुन अमेरिका कसरी पुग्यो ?

रूसले आफ्नो सुन आफ्नै देशमा राख्छ जसले गर्दा प्रतिबन्धहरूको असरबाट जोगिन सक्छ। तर धेरै युरोपेली देशहरूले अझै पनि आफ्नो सुन विदेशमा राखेका छन् विशेष गरी न्यूयोर्कमा। सन् १९५० को दशकदेखि नै युरोपेली देशहरूले अमेरिकामा सुन जम्मा गर्न थालेका थिए। ब्यारी आइकेनग्रिनका अनुसार त्यतिबेला युरोपेली देशहरूले अमेरिकामा धेरै निर्यात गर्थे र बदला स्वरूप सुन र डलर पाउँथे। सोभियत खतराका कारण युरोपेली देशहरुले १९५० को दशकदेखि नै आफ्नो सुन अमेरिकामा जम्मा गर्न सुरु गरेका थिए । सुनलाई ढुवानी गर्न महँगो हुने भएकाले तिनीहरूले अमेरिकामा कमाएको सुनलाई अमेरिकामै राख्नु उचित ठाने। सन् १९४४ को ब्रेटन उड्स सम्झौतापछि त डलर र सुन सबैभन्दा भरपर्दो सम्पत्ति बने। सो प्रणालीले डलरलाई सुनसँग जोडिएको निश्चित विनिमय दरमा बाँध्यो जसका कारण सुन र डलर सबैभन्दा विश्वसनीय सम्पत्ति बने। युद्धपछि कमजोर भएका युरोपेली देशहरूले अमेरिकी केन्द्रीय बैंकको निगरानीमा बिना कुनै शुल्क अमेरिकामा सुन राख्न पाउने अवसरको फाइदा उठाए। अर्कोतर्फ सोभियत संघको सम्भावित खतरा देखेर अमेरिकी सुरक्षा नै सबैभन्दा भरपर्दो ग्यारेन्टी मानिएको थियो।

वर्तमान अवस्था:

अहिले न्यूयोर्कमा रहेको सुनको मात्रा पहिलेभन्दा घटेको छ। सन् १९७३ मा यो १२ हजार टनभन्दा बढी थियो जुन अहिले त्यसको करिब आधामात्रै छ। तर पनि धेरै युरोपेली देशहरू आफ्नो सुन त्यहीँ राख्न चाहन्छन्। जर्मनीले सबैभन्दा धेरै सुन जम्मा गरेको छ ।
विशेषज्ञहरूका अनुसार सुन फिर्ता ल्याउने निर्णयले अनपेक्षित असर ल्याउन सक्छ र अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव बढाउन सक्छ। अर्थशास्त्री ब्यारी आइचेनग्रिनका अनुसार यसले अमेरिकालाई ठूलो आर्थिक असर नपार्ने भए पनि सहयोगी देशहरूसँगको विश्वासमा कमी आउन सक्छ। उनका अनुसार सुन सुरक्षित राख्न अमेरिकाले साझेदार युरोपेली मुलुकहरुलाई नाटोको सुरक्षा छाता वा डलरको विश्वव्यापी मुद्रा भूमिका जस्ता निशुल्क सेवा दिएको छ। तर हालको अमेरिकी सरकार यस्ता सेवाहरू निःशुल्क दिनुपर्छ भन्नेमा विश्वास गर्दैन। यदि सहयोगी देशहरूले आफ्नो सम्पत्ति अमेरिकामा सुरक्षित छैन भन्ने शंका गर्न थाले भने यसले अमेरिकाप्रतिको विश्वास घटाउँछ। यस्तो विश्वास मध्यपूर्व जस्ता संवेदनशील क्षेत्रमा सहयोग आवश्यक पर्दा अत्यन्तै महत्वपूर्ण हुन्छ। त्यसैले पछिल्लो समयमा हालसम्म कुनै युरोपेली देशले आफ्नो सुन फिर्ता ल्याउने औपचारिक निर्णय गरेको छैन। जर्मनीको आइएफओ इन्स्टिच्यूट फर इकोनोमिक रिसर्चका क्लेमेंस फ्युस्टले बेलायती पत्रिका द गार्जियनलाई बताएअनुसार अहिलेको अवस्थामा सुन फिर्ता ल्याउनु आगोमा घिउ थपेझैँ हुनेछ र यसले अप्रत्याशित परिणाम ल्याउन सक्छ। युरोपेली देशहरूको सुनको संरक्षकका रूपमा अमेरिकी केन्द्रीय बैंकको विश्वसनीयतामाथि उठिरहेका प्रश्नहरूले दशकौँदेखि कायम विश्व व्यवस्थामा अर्को दरार आउन सक्छ। बीबीसीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार