काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सह–महामन्त्री उदयशमशेर राणा मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए । पित्तथैलीको शल्यक्रियापछि घरमै आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था बुझ्न भनिएपनि उनीहरू गुण्डु पुग्नुको कारण राजनीतिक छलफल थियो । स्वास्थ्य अवस्था बुझ्न भनेर उहाँहरु गुन्डु आउनुभएको हो । तर भेट भइसकेपछि राजनीतिक विषयहरुमा कुरा हुने नै भयो,’ ओली निकट एक नेता भन्छन् । संसद् छलेर ल्याइएका अध्यादेशहरू, सरकारको नीति तथा कार्यक्रम, प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल भएको उनी बताउँछन् । उनका अनुसार राष्ट्रिय सभाबाट अध्यादेशहरू पारित हुन नदिन विपक्षीहरु जुटिरहेका सन्दर्भमा पनि कुराकानी भएको छ । तर, उच्च स्रोतका अनुसार कुराकानीको मुख्य एजेण्डा भने प्रदेश सरकारहरू हेरफेर गर्नेबारे थियो । सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ,’ एमालेका एक नेता भन्छन्, ‘पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यसै वरीपरी कुराकानी चलिरहेको छ । कांग्रेस उपसभापति शर्माले ओलीलाई भेट्न जानुअघि यो कुरा भनिसकेका थिए । कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही लगायतसँग कुरा गर्ने क्रममा शर्माले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे एमालेका अध्यक्षसँग कुरा गर्ने बताएका थिए । कर्णालीमा अहिले एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । स्रोतका अनुसार ओलीसँग कुरा हुनुअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूबीच केहीपटक कुराकानी भइसकेको छ । कांग्रेसबाट उपसभापति शर्मा र महामन्त्री प्रदीप पौडेल र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पूर्वसहमतिबारे छलफल भएको छ । तर पूर्वसहमति बमोजिम मुख्यमन्त्रीहरू फेरिने प्रक्रिया सहज नदेखिएकै बुझाइका साथ शर्मा र राणा गुन्डु पुगेको कांग्रेसका एक नेता बताउँछन् । प्रदेश सरकार परिवर्तन गर्ने बारेमा दुई दलमा छलफल भइरहेको छ । तर टुंगोमा पुग्न सकिएको छैन।साभार : अखप












