काठमाडौँ – सोमबार दिउँसो १ बजे बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक झण्डै आधा घण्टा ढिलो गरी सुरु भयो । बैठक ढिलो हुनको कारण थियो—उपाध्यक्ष रामबहादुर थापा (बादल) र उपमहासचिव लेखराज भट्ट ढिलो गरी बैठक स्थल ओली निवास गुण्डु पुग्नु । थापा र भट्ट गुण्डु पुगे लगत्तै सुरु भएको बैठकमा महासचिव शंकर पोखरेलले बैठकका ११ वटा एजेण्डा रहेको पढेर सुनाएका थिए । पोखरेलले बैठकका एजेण्डा राखेपछि ओलीले सम्बोधनका रूपमा आफ्ना भनाइहरू राख्न सुरु गरेका थिए । आफ्नो भनाइ राख्ने क्रममा ओली एक्लैले एक घण्टाभन्दा बढी समय बोलेका थिए । त्यसक्रममा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको चर्चा धेरै गरेका थिए । त्यसपछि पार्टीको विषय जोडेका थिए । फागुन २१ को निर्वाचन परिणामदेखि रास्वपाको सरकार निर्माण र बालेन शाह नेतृत्वका सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आफ्नो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याएका थिए । साथै उनले एमाले र एमाले नेतृत्वमाथि सरकारले गरिरहेको व्यवहार राजनीतिक नभएको टिप्पणी गरेका थिए । ओली बोलेपछि अन्य सचिवालय सदस्यहरूले देशको राजनीति, पार्टीहरूको भूमिका, चुनावी नतिजा र सरकारका कदमबारे पालैपालो आफ्ना धारणा राखेका थिए । बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे छलफल गर्ने एजेण्डा नभएपनि अध्यक्ष ओली आफैले प्रसङ्ग निकालेका थिए । उनले आफ्ना धारणा राख्ने क्रममा पार्टी एकतालाई जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने बताएका थिए। अहिले हामी अप्ठेरो र चुनौतीपूर्ण अवस्थामा छौ । यो चुनौती चिर्न पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन’, ओलीले बैठकको अन्त्यतिर भनेका थिए,‘ पूर्वराष्ट्रपति भण्डारीले सदस्यता लिने इच्छा गर्नुभयो । अब किन रोक्नु, प्रक्रिया पनि पुगेकै छ । नरोकौँ र उहाँको सदस्यतालाई कन्टिन्युटी गरौँ’, ओलीको प्रस्ताव थियो । ओलीको अचानक यस्तो प्रस्ताव सुनेर केही सचिवालय सदस्यहरू नै ‘सरप्राइज’ भएका थिए । ‘पहिला उहाँले किन रोक्नुभयो ? अहिले किन खोल्नुभयो भन्ने केही बुझ्न सकिएन’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘आफूमाथि उठिरहेका कुराहरूलाई विषयान्तर गर्न खोजेको पनि हुनसक्छ । बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको वरियता, निर्वाचन समीक्षा,सदस्यता नवीकरण र विस्तार, पदाधिकारीको कार्य विभाजन, संविधान संशोधन कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागमा सदस्य मनोनयन लगायतका ११ वटा छलफलका एजेन्डा पेस गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा केही सचिवालय सदस्यले अध्यक्ष ओलीको राजीनामा पार्टीभित्रै माग्न थालिएको सङ्केत गरेका थिए । तर, सोमबारको बैठकमा समय अभाव भएपछि त्यसबारे छलफल हुन नपाएको एक सदस्यले बताए । समग्रमा पार्टी पुनर्गठनको प्रसङ्ग सबैजसो सदस्यले उठाउनुभयो । एजेण्डा बनाएर पार्टीको समग्र पुनर्गठनका बारेमा छलफल गर्नुपर्छ भन्ने आशय सबैको थियो’, ती सदस्यले भने, ‘तर समय अभावले अर्को बैठकमा विस्तृत छलफल गर्ने भनेपछि थप केही भएन । मङ्गलबार महासचिव शंकर पोखरेल दाङ जाने भएकाले अर्को बैठक जेठ ८ गते बसेर थप एजेण्डाबारे निर्णय गर्ने बताए । ‘बैठक अत्यन्त राम्रो भयो । अध्यक्षले राम्रो कुरा राखेपछि सबैले उहाँको कुरा ठिक हो भन्ने सबैको मत देखियो ।साभार :रापा












