फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर…..

पोखरा –      ओहो ! खोलामाथि ५ तले घर ? कसरी बनाउन सकेको होला ?’ पोखरा महानगरपालिकाले सोमबार डोजर हानिरहेको ठाउँमा जम्मा भएका नागरिकहरूले जिब्रो टोक्दै भनिरहेका थिए । हुन पनि पोखराको फिर्के खोलामै पर्ने गरी सिंगो ५ तले घर ठडिएको थियो । वडा नम्बर ५ मा पर्स्याङको पछाडिपट्टी लक्ष्मी टोलमा फिर्के खोलामाथि बनेको कोठै–कोठा, झ्यालै–झ्याल देखिएको अलिसान महल कसको होला ? त्यो क्षेत्रका अधिकांशलाई जानकारी भए पनि त्यहाँ पुग्ने अन्य धेरैको चासो थियो । त्यो महल बनाउने व्यक्ति हुन्-ज्ञानबहादुर कोइराला । ज्ञानबहादुर पूर्वमाओवादी नेता हुन् । जो माओवादी शान्ति प्रक्रियामा आएपछि लामो समय पोखरा महानगरकै सर्वदलीय संयन्त्रमा बसेर काम गरेका थिए । देशमा स्थानीय तहको चुनाव हुनुअघि सर्वदलीय संयन्त्रले महानगरका नीतिगत र विकास निर्माणमा भूमिका खेल्थे । महानगरको विकास, नियमन र सुशासनका लागि भूमिका खेल्नुपर्ने व्यक्तिले नै राज्यको कानुनको धज्जी उडाउँदै खोलामाथि संरचना बनाएका हुन् । त्यो पनि एउटा होइन, २ वटा । पोखरा महानगरले आइतबारबाट डोजर चलाउने अभियानको एउटा सुरुवात विन्दु थियो, फिर्केखोला पुलभन्दा मुनिको क्षेत्र । वडा नम्बर ४ मा पर्ने कोइराला विर्ता टोलमा फिर्के खोला मिचेर बनाइएका संरचनामा आइतबार डोजर हान्दा सबैभन्दा पहिले ज्ञानबहादुरकै घरबाट थालनी भएको थियो । मालेपाटन, पर्स्याङ क्षेत्रका धेरैको चासो थियो, ज्ञानबहादुरको घर चाहिँ भत्किएला कि नभत्किएला ? ती सबै चासोलाई जवाफ दिँदै खोलाको सीमाभित्र परेका सबै संरचनामा महानगरले डोजर लगाइरहेको छ । ज्ञानबहादुरको घरमा डोजर लाग्ने, नलाग्नेबारे धेरैले शंका गर्नुको पनि जायज कारण छ । ज्ञानबहादुर तिनै व्यक्ति हुन्, जो समानता, परिवर्तन र अन्यायका विरुद्ध १० वर्षे माओवादी युद्धमा होमिएका थिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार