पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भएको सम्झौता अझै अन्तिम नभएको बताएका छन् । उनले इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका सीबीसी न्युजले लेखेको छ ।बुधबार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने जानकारी दिएका हुन् । यसअघि दुवै देशका अधिकारीहरूले शुक्रबार हस्ताक्षर हुने बताएका थिए । यसैबिच इजरायलले लेबनानमा सीमित सैन्य आक्रमणहरू जारी राखेको छ । ट्रम्पले इरानसँगको सम्झौता घोषणा गरेपछि पनि ती आक्रमणहरू नरोकिएको जनाइएको छ । तेहरानले इजरायलले लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राखे वा आक्रमण जारी राखेमा त्यसलाई वासिङ्टनसँग भएको सम्झौताको उल्लङ्घन मानिने चेतावनी दिएको छ । अर्कोतर्फ, इरानी तेलवाहक जहाजहरू अमेरिकी नौसैनिक नाकाबन्दी रेखा पार गरिरहेको समाचारले अन्तर्राष्ट्रिय ढुवानी क्षेत्रमा अन्योलता बढाएको छ ।साभार : रापा












