पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश…..

काठमाडौं –      एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो । नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए । त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए । तर, अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो । अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ । अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो । इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो । नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको छ । यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । उनी विश्वकपका सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान मेसीको नाममा छ । मेसी विश्वकपको इतिहासमा लगातार ६ वटा नकआउट चरणका खेलहरूमा गोल गर्ने पहिलो खेलाडी बने। यस्तै मेसीले विश्वकपमा सर्वाधिक असिस्ट (९) गर्ने कीर्तिमान बनाएका छन् । जारी विश्वकपमा ८ गोल गर्दै मेसी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । मेसी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने खेलाडी पनि बनेका छन् । समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेको मेसीले राउन्ड अफ १६ को इजिप्टविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।

विश्वकपमा सर्वाधिक असिस्टमा पनि मेसीको कीर्तिमान, लगातार ९ खेलमा गोल:
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक असिस्ट गर्ने कीर्तिमान आपफ्नै नाममा लेखाए । साथै मेसीले लगातार ६ विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् । सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले त्यसयता ६ विश्वकप खेल्दै सबैमा असिस्ट गरेका हुन् । जारी विश्वकपमा पहिलो असिस्टमै मेसीले दुई कीर्तिमान बनाएका हुन् । यसअघि उनले विश्वकपमा अधिकांश कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । इजिप्ट विरुद्ध ३-२ को पुनरागमन जितमा एक गोल समेत गरेका मेसीले लगातार खेलमा गोल गर्ने कीर्तिमान पनि बढाउँदे लगेका छन् । उनले यस विक्क्वकपमा खेलेको सबै ५ वटै खेलमा गोल गरेका छन् । उनी लगातार ९ खेलमा गोल गर्ने एक मात्र खेलाडी हुन् । मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक विश्वकप खेल्ने खेलाडी समेत हुन् । मेसीले अहिलेसम्म ६ विश्वकप खेल्दा कूल ३१ खेल खेलिसकेका छन् । दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले २६ खेल खेलेका छन् । मेसी र रोनाल्डोले मात्र सर्वाधिक ६ वटा विश्वकप खेलेका छन् । यस्तै मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक १४ खेल खेल्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरेका छन् । अब क्वाटरफाइनल पुगिसकेकोले मेसीले उक्त कीर्तिमान पनि तोड्नेछन् । यस विश्वकपमा मेसीले गोल संख्या ८ पुर्‍याएका छन् र उनी सर्वाधिक गोल गर्नेमा पुन: शीर्ष स्थानमा उक्लेका छन् । मेसीसँग प्रतिस्पर्धामा रहेका प्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् । मेसी दुई फरक विश्वकपमा ७ वा त्यो भन्दा धेरै गोल गर्ने समेत पहिलो खेलाडी बनेका छन् । सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदा मेसीले ७ गोल गरेका थिए । यस्ते सबैभन्दा पाका उमेरमा ह्याट्रिक गर्ने, विश्वकपको समहु चरणदेखि सबै चरणको खेलमा गोल गर्ने, टिन एज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने देखि एक दर्जन भन्दा बढी कीर्तिमान मेसीले बनाइसकेका छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार