मुख्यसचिव चयनमा पनि वरिष्ठता ओझेलमा…..

काठमाडौं –     सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौं वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा बढुवा गरेको छ । मुख्यसचिव सुमनराज अर्याल ५८ वर्षे उमेरहदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त हुने पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । सरकारले संघीय निजामती विधेयकमा प्रस्ताव गरेको ५५–३० को अवधारणा यथावत रहे ऐन जारी भएकै दिन मुख्यसचिव कार्की अवकाश हुनेछन् ।अहिलेको व्यवस्था कायम रहे ५६ वर्षिय कार्की पुस, २०८५ मा ५८ वर्षिय उमेरहदबाट अवकाश हुनेछन् । कार्की भन्दा वरिष्ठ रहेका करिब डेढ दर्जन सचिव यसैवर्ष अवकाशमा जाँदैछन् । यो अवकाशमा जानेहरू बाहेक पनि कार्कीभन्दा वरिष्ठ अरू सचिवहरू छन् । उनीहरू मध्येबाट कसैलाई मुख्य सचिव बनाउन सक्थ्यो । वरीयताक्रमको एक नम्बरमा किरणराज शर्मा थिए । तर सरकारले वरीयतामा पछि रहेका कार्कीलाई नै मुख्यसचिव बनायो । अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुस्कर गत मंगलबार अवकाश भए । २७ असारमा अर्का सचिव खगेन्द्रप्रसाद नेपालले पनि अवकाश पाउनेछन् । सचिव किरण शर्मा ३ साउनमा, लोकनाथ पौडेल, हरि मैनाली, गोविन्दप्रसाद शर्मा साउनमा, डिल्लीराम शर्मा, बाबुराम अधिकारी भदौमा, गोपाल सिग्देल,राजकुमार श्रेष्ठ, सरजुकुमार बैद्य, रविलाल पन्थ र राजेन्द्र प्रसाद मिश्र असोज र पुसमा कृष्णबहादुर राउत अवकाश हुनेछन् । मन्त्रिपरिषद्ले यीनीहरूबाट नियुक्त नगरी कार्कीलाई मुख्य सचिव बनाएको हो ।

को हुन् कार्की ?

२०२७ सालमा भोजपुरको भंगेरीमा जन्मिएका कार्की २०४६ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी २०५३ सालमा शाखा अधिकृत, २०६२ मा उपसचिव, २०७० सालमा सहसचिव भएका थिए । उनी २० भदौ २०८१ मा सचिव पदमा बढुवा भएका हुन् । सचिव भएको पुगनपुग दुई वर्षमै उनी मुख्यसचिव बनेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र व्यवस्थापनमा अनि जापानको टोकियोस्थित नेशनल ग्राजुएसन इष्टिच्यूट फर पोलिसी स्टडिजबाट ‘इन्टरनेशनल डेभलपमेन्ट स्टडिज’मा मास्टर्स गरेका छन् । राष्ट्रिय योजना आयोगको योजना अधिकृतको रुपमा करियर शुरु गरेका कार्कीले लमजुङ, भोजपुर र काभ्रेमा स्थानीय विकास अधिकारीको रुपमा काम गरेका थिए । सहसचिव भएपछि उनी डोटी र कञ्चनपुरका सीडीओ बनेका थिए । त्यसपछि एयरपोर्ट अध्यागमनको प्रमुख र पर्यटन विभागको महानिर्देशक बने । उनले चार वर्ष चीनको ल्हासामा महाबाणिज्यदूतको रुपमा काम गरेका थिए । बागमती प्रदेशको कामू प्रमुख सचिव बनेका कार्की सचिवमा बढुवा भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव बनेका थिए । उनी जेठ, २०८२ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव छन् । विकास योजना, अनुगमन, स्थानीय शासन, अध्यागमन व्यवस्थापन लगायतका क्षेत्रमा अनुभव बटुलेका नवनियुक्त मुख्यसचिव कार्की कूटनीतिक एवं वैदेशिक व्यापार नीतिका समेत जानकार हुन् । उनी व्यापार सहजीकरण, नेपाललाई अल्पविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्ने रणनीति निर्माणमा संलग्न थिए । पछिल्लो समय उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुशासन क्षेत्र हेर्थे । नयाँ सरकार गठन भए लगत्तै सरकारले अघि सारेका शासकीय सुधार कार्ययोजनाहरू बनाउने काममा पनि उनको भूमिका थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार