काठमाडौं – कुनै समय गुण्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरीले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसेर ५ चैत २०७९ छुट्दा भनेका थिए, ‘हिजो अन्जानमा गल्ती भयो । अब सामाजिक काममा लाग्छु । गल्ती महसुस गरेका उनले समाजसेवा गर्ने भन्दै गिरी फाउन्डेसन खोले । गाउँ–टोल तथा दु:खीलाई सहयोग गर्ने उनको शैलीले केहीलाई आश्चर्यचकित बनायो । गिरीको समाजसेवा ‘रत्नाकार डाकु पनि वाल्मिकी ऋषि बन्न सक्छ’ भन्ने उदाहरण जस्तै देखिन थाल्यो । कारागार बसेर निस्केपछि सुध्रिएको उनको आनीबानीले यस्तै देखाउँथ्यो । तर, विस्तारै समाजसेवाको आवरणमा गिरीले पुरानै धन्दा चलाइरहेको खुल्यो । पुरानो छविलाई ढाक्न समाजसेवा गरे जस्तो गर्ने तर भित्री व्यवहार भने आपराधिक नै रहेको प्रहरी अधिकारीहरू बताउँछन् । कतिसम्म भने, कारागारबाट निस्केका गिरीको दादागिरी कारागार भित्रदेखि बाहिरसम्मै फैलिएको छ । कारागारबाट निस्केपछि पनि मोरङ कारागार भित्रको शासन भने गिरीले नै चलाउँथे । त्यति मात्र होइन, कोशीको राजधानीमा गिरीले चलाएको दादागिरीको साइनो काठमाडौंसम्म फैलिएको छ । गिरीको दादागिरी काठमाडौंसम्म फैलिएपछि अनुसन्धानको सबैभन्दा ठूलो विशिष्टकृत इकाइ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाएको छ । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार अहिले गिरीमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
धम्क्याएरै घर कब्जा:
गिरीले धम्क्याएरै काठमाडौंमा घर कब्जा गरेको सीआईबीले बताएको छ । श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक तथा निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ । यति मात्रै होइन, श्रेष्ठलाई परेको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै त्यस वापत रकम लिएको तर काम भने नगरी ठगी गरेको देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् । सुभाष श्रेष्ठका सवारी साधनदेखि घरसम्म कब्जा लिएको आरोप गिरीमाथि छ । ‘निर्माणमा प्रयोग हुने सवारी साधानहरूसमेत उनले कब्जामा लिएका छन् । केही सवारी कवाडीलाई पनि बेचेको भेटिएको छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘यी सबै काम उनले पुरानो आपराधिक पृष्ठभूमिको आडमा धम्की दिएर गरेको देखिन्छ । कारागारबाट छुटेपछि पनि उनको रजगज पहिलेकै जस्तो देखिएको छ ।’
कैदीबन्दीलाई बाँडेको साढे १३ लाख ‘गायब’ भएपछि पक्राउ परे अभिषेक गिरी:
ठेक्का र सवारी साधन मात्रै होइन, काठमाडौंकै घरजग्गादेखि चेकसम्म कब्जामा लिएर राजीनामा पास गराएको अनुसन्धानका क्रममा खुलेको छ । केही सवारी सधानहरू कब्जामा लिएको, काठमाडौंको घरजग्गा राजीनामा पास गरी लिएको तथा चेक काट्न लगाएको आरोप रहेको प्रहरीले बताएको छ । ‘काठमाडौं बूढानीलकण्ठमा रहेको करिब साढे ४ करोड पर्ने घरसमेत धम्क्याएरै राजीनामा पास गर्न लगाएको देखिन्छ,’ ती अधिकृत भन्छन्, ‘पीडितका अनुसार धम्की दिएरै खाली चेक पनि लिएको भेटिएको छ ।’ गिरीको दादागिरीबाट आजित भएपछि आफूले उजुरी दिएको श्रेष्ठले बताएका छन् । उनै श्रेष्ठको जाहेरीको आधारमा २२ असारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर गिरीमाथि अनुसन्धान अघि बढाइएको हो । गिरीले दबाब दिएपछि श्रेष्ठले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ को कि.नं. १०३९ मा बनेको घर कान्छी श्रीमती सोनु आर्चायको नाममा पास गरिदिएका थिए । गिरीले श्रेष्ठको घर ६ महिनाअघि श्रीमतीको नाममा पास गराएको बताइएको छ । एक वर्षअघि गिरीले श्रेष्ठसँग दुई वटा खाली चेक लिएका थिए । एउटा खाली चेकमा चन्द्रकुमार शाहको नाममा ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ राखेर चेक बाउन्स गराएको पीडितको दाबी छ । चेक बाउन्सको जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङमा पनि दर्ता भएको छ । गिरीले अर्को खाली चेक भने अझै आफैंसँग राखेका छन् । श्रेष्ठले हेटौंडाको घरजग्गा बिक्री गर्न खोज्दा पनि गिरीले नै हस्तक्षेप गरेका छन् । विनोदकुमार गुप्तालाई १ करोड ५० लाख रुपैयाँमा बिक्री बैना गर्दा बैना वापतको ५० लाख रुपैयाँको चेक पनि अभिषेक गिरीले आफ्नो नाममा लिएको श्रेष्ठको जाहेरीमा उल्लेख छ ।साभार : अखप












