काठमाडौं – कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ । चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । त्यही खेलको रिम्याचको रुपमा यस पटक प्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो । पहिलो हाफमा एमबाप्पे सहित फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहवर्यो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ । खेलको पहिलो हाफमा मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरे । उनले पेनाल्टीसहित तीन सेभ गरे । फ्रान्सका कप्तान एमबाप्पेले पहिलो हाफमा २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए । २५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो । एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए । फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे । खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए । यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।साभार : अखप












