काठमाडौं – सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे । तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो । सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भएको छ । यसअघि १९९० र २०१८ मा पनि सेमिफाइनल पुगेर पराजित भएको थियो । तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तीन गोल भयो । खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै राेकिन पुग्याे । अर्जेन्टिनाले भने च्याम्पियन शैलीमा अन्तिम पाँच मिनेटको खेल बाँकी हुँदा शानदार पुनरागमन गर्यो । यसअघि प्रिक्वाटरफाइनलमा दुई गोलले पछि पर्दा अन्तिम समयमा कमब्याक गर्दै ३ गोल गरेर खेल जितेको अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यस्तै खेल देखायो । ८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । बराबरी गोल गरेपछि अर्जेन्टिना खेलमा हावी बन्न थाल्यो भने इंग्ल्यान्ड दबाबमा पर्यो । पहिलो गोल गरेपछि इंग्ल्यान्ड रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनालाई गोल गर्न नदिने प्रयास गरेको थियो । तर लगातारको प्रयास पछि अर्जेन्टिनाले डेडलक तोड्यो । जसले गर्दा खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो । दोस्रो हाफमा ९ मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । त्यही अतिरिक्त समयको दोस्रो मिनेटमा सुपर सब मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । महत्त्वपूर्ण समयमा अग्रता लिएको अर्जेन्टिनाले त्यो अग्रता अतिरिक्त समयमा जोगाउँदै जित हात पार्यो । पहिलो हाफ नीरस बनेको खेलमा दोस्रो हाफमा दुवैतर्फबाट गोलको प्रयास भएको थियो । अर्जेन्टिनाको ५ प्रहार सट अन टार्गेट हुँदा इंग्ल्यान्डले २ प्रहार मात्र सट अन टार्गेट राख्न सक्यो । सुरुवातदेखि ने बल पोजिसनमा अघि रहेको अर्जेन्टिनाले ६४ प्रतिशत बल पोजेसन राखेको थियो । दुवै टिमबाट गरी खेलभर २६ वटा फाउल भएको थियो ।साभार : अखप












