काठमाडौं – सशस्त्र प्रहरी बलले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ (आर्म पुलिस फोर्स) स्कुलको रकम हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर र उनका प्रेमीविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाइएको छ । स्कुलकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी लिलाबहादुर लामाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको हो । प्रहरीले उनीहरूलाई पक्राउ गरी सुरुमा ठगी तथा आपराधिक लाभको कसुरमा अनुसन्धान गरेको थियो । ठूलो रकम हिनामिना गरेको भेटिएपछि अहिले सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान अघि बढाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अुसन्धान अघि बढाएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले स्कुलमा आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
महाशाखामा पठाउनुपर्ने रकम साथीको खातामा:
अनुसन्धानका क्रममा स्कुलको रकम इन्स्पेक्टर गुरुङले आफ्ना प्रेमी लिलाबहादुरलाई दिएको पाइएको छ । लिलाबहादुरको नाममा गाडी, घर, घडेरीसमेत भेटिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । लिलाबहादुरको नाममा रहेका दुई वटा गाडी त हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं । घर-घडेरी पनि देखिएको छ,’ एसपी भट्टराईले भने । प्रहरीले दुई वटा गाडी ल्याए पनि अर्को एउटा गाडी पनि लिलाबहादुरको नाममा रहेको प्रहरीको भनाइ छ । लिलाबहादुर नामका यत्रो सम्पत्ति देखिएपछि उक्त सम्पत्ति स्कुलको रकमबाटै किनिएको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान अघि बढाएको छ । तर प्रहरी स्रोतका अनुसार आरोपी लिलाबहादुरले भने रकम हिनामिनाभन्दा अगाडि नै घर–घडेरी जोडेको दाबी गरेका छन् । स्कुलको खातामा हुनुपर्ने करोडौं रकम व्यक्तिगत खातामा राखेको र आफ्ना प्रेमीलाई दिएको इन्स्पेक्टर गुरुङले बताएकी छिन् । हिनामिनाको रकम इन्स्पेक्टर गुरुङको नाममा भेटिएको छैन । ‘लेखापाल गुरुङले सबै रकम प्रेमीलाई दिएको बताएकी छिन् । प्रेमीको नाममा भने गाडी, घर-घडेरी देखिएको छ,’ एसपी भट्टराई बताउँछन् । अहिलेसम्म १० करोडभन्दा बढी रकम हिनामिना भएको बताइएको छ । यसबारे सशस्त्र प्रहरी बल हेक्वार्टरलाई पत्राचार गरिएको छ । तर सशस्त्र हेडक्वार्टरबाट औपचारिक पत्र आउन बाँकी रहेको र कति हिनामिना भयो भन्ने यकिन हुन अझै समय लाग्ने परिसरका एसएसपी दिलीप घिमिरेको भनाइ छ ।साभार : अखप












