काठमाडौं – विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ । क्लबले सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ । निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्राका क्रममा पर्वतारोहणप्रति आकर्षित भएका उनले सुरुमा आधार शिविरबाट फर्किने योजना बनाए पनि निर्णय परिवर्तन गर्दै सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनी विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा स्थापित भएका छन् ।साभार : अखप












