काठमाडौं – १७ साउन राति १० बजे जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गर्यो । मध्यराति पक्राउ परेका प्रसाईंलाई भक्तपुर प्रहरीको हिरासतमा राखियो । भोलिपल्ट म्याद थप गर्ने विषयमा भने प्रहरी नै अलमलमा थियो । प्रसाईं पक्राउ पर्नुको कारण र म्याद थपबारे भक्तपुरका एसपी सूर्यबहादुर खड्कासँग अनलाइनखबरले जिज्ञासा राख्दा उनले परामर्शमै रहेको बताएका थिए । अहिले म्याद थप भएको छैन । के कसुरमा म्याद हुने हामी हेर्दैछौं । अनुसन्धान गर्दैछौं । पछि मात्रै थाहा होला,’ एसपी खड्काले भनेका थिए । मध्यराति नै प्रसाईंलाई पक्राउ गरे पनि के कसुरमा अनुसन्धान गर्ने वा के कसुरमा म्याद लिने भन्नेमा प्रहरीलाई नै यकिन थिएन । यसबाट प्रष्ट हुन्छ, कसुरको पहिचानभन्दा पहिला नै पक्राउ गरी पछि मात्रै कसुर पहिचान गरेर अनुसन्धान गर्ने परिपाटी प्रहरीको देखिन्छ । अन्तत: प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा म्याद थप गर्न अदालत उपस्थित गराएको थियो । सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएका प्रसाईंलाई पहिलो पटक ७ दिनको म्याद थपको माग गरिएको थियो । जबकि, प्रहरीले पक्राउ गर्दा सार्वजनिक शान्तिमा खलल पुर्याएको भन्दै उक्त कसुर आकर्षित गरेर पुर्जी दिएको थियो । तर म्याद थप गर्ने बेलामा भने साइबर कसुर अर्थात् विद्युतीय कारोबार ऐन अन्तगर्तको कसुरमा म्याद मागदाबी गरेको थियो । यी दुई फरक कसुरबाट पनि प्रहरीको अलमल र प्रसाईं पक्राउको यकिन कारण नरहेको संकेत गर्थ्यो । अन्तत: अदालतले म्याद नै नदिएपछि पक्राउ परेको २४ घण्टा नबित्दै प्रसाईं रिहा भए । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले विद्युतीय कसुर आकर्षित हुने भए प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै म्याद दिएन ।
भारतमा लुक्दा किन दिल्ली-लखनउ गर्दै थिए दुर्गा प्रसाईं ?
प्रसाईं प्रहरीको आफ्नै विवेकले अपराध भएको देखेर पक्राउ परेका भने थिइनन् । न उनीविरुद्ध कसैले उजुरी नै दिएको थियो । उनी त माथिको आदेशमा छिनभरमै समातिएका थिए । अनि क्षणभरमै छुटे । २४ घण्टामै छुटेका प्रसाईंको पक्राउ कारण भने उनले आइतबार दिउँसो गरेको प्रेस मिट बनेको थियो । नेपालमा रोहिंग्या भित्र्याउने काम नै गृहमन्त्री सुधन गुरुङले गरेको भन्दै प्रसाईंले गम्भीर आरोप लगाए । अझ गृहमन्त्री गुरुङ र एक व्यक्तिको तस्वीर देखाउँदै प्रसाईंले भनेका थिए, ‘यो ब्राग भन्ने र सुधन गुरुङले बंगलादेशमा सँगै तालिम लिएको हो । सुनसरी घटनाको योजनाकार नै सरकार हो । सिंहदरबारमा आगो लगाउने र मधेशमा आगो लगाउने एउटै समूह हो । उक्त तस्वीर देखाउँदा साइबर लाग्छ भने लागोस्, म जान तयार छु भन्दै प्रसाईंले आक्रोशित भाषण गरेका थिए । नभन्दै आइतबार राति घरैबाट उनी पक्राउ परे । २०८३ साल लागेयता प्रसाईंको यो पहिलो पक्राउ होइन । यसअघि ४ जेठमा प्रसाईं पक्राउ परेका थिए । त्यतिबेला भने उनी काठमाडौंबाट नभई पर्साको वीरगञ्जबाट पक्राउ परेका थिए । वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेका उनलाई साइबर र राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइयो । उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध, कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको आरोप लगाइएको थियो । उनले वीरगञ्जमा हिन्दु धर्मको नाममा विभिन्न अराजक गतिविधि गर्ने र हिन्दु–मुस्लिम समुदायबीच द्वन्द्वको वातावरण सिर्जना हुन सक्ने विश्लेषण गर्दै उनलाई पक्राउ गरिएको थियो । प्रसाईंलाई पक्राउ गर्दाका एक सुरक्षा अधिकारीको दाबी छ, ‘त्यतिबेला प्रसाईंलाई नियन्त्रणमा नलिएको भए अहिले सुनसरीमा देखिएको साम्प्रदायिकता त्यतिबेलै हुने जोखिम थियो । हामीले जोखिम विश्लेषण गरेरै प्रसाईंलाई नियन्त्रणमा लिएका थियौं ।’ वीरगञ्जमा ८ दिन हिरासत बसेर उनी १२ जेठमा पर्सा जिल्ला अदालतको आदेशअनुसार साधारण तारेखमा रिहा भए ।साभार : अखप












