काठमाडौं – पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणामपछि अस्तित्व संकटको डिलमा पुगेका आठ पहिचानवादी दल/शक्तिले मोर्चाबन्दी थालेका छन् । शनिबार ती शक्तिहरूले बानेश्वर ब्यांक्वेटमा ‘अग्रगामी मोर्चा’को घोषणा गरेका छन् । कुनै समय मधेशमा लगभग कब्जा जमाएका मधेशवादी दल, पश्चिमको थारु बहुल्य समाजमा दबदबा कायम गरेका नागरिक उन्मुक्ति पार्टी, पूर्वी क्षेत्रमा निरन्तर पहिचानको मुद्दा उठाइरहेको खम्बुवान राष्ट्रिय मोर्चा जस्ता शक्ति यो मोर्चाबन्दीमा सामेल छन् । त्यही मोर्चामा चुनावअगाडि मात्रै स्थापना भएको प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत सामेल भएको छ । मोर्चाको अवधारणापत्रमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दनकुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले हस्ताक्षर गरेका छन् ।
ठूला र प्रभावशाली नामको गठजोड:
यो मोर्चाबन्दीमा नेपाली राजनीतिमा आफ्नो छाप छाडेका ठूला र प्रभावशाली नामहरू एकठाउँमा जोडिएका छन् । मधेश आन्दोलनको संघर्षबाट उदाएका र पटक–पटक सरकारको मन्त्री/उपप्रधानमन्त्री बनेका उपेन्द्र यादव, नेपाली कांग्रेसको राजनीतिबाट उदाएर पछि मधेशको पहिचानवादी राजनीतिमा शक्तिशाली भूमिका निर्वाह गरेका महन्थ ठाकुर, पश्चिममा थारु आन्दोलनबाट शक्ति आर्जन गरेका रेशम चौधरी यो मोर्चाबन्दीमा सामेल छन् । यस्तै, माओवादी सशस्त्र विद्रोहका प्रभावशाली कमान्डर जनार्दन शर्मा, माओवादी संघर्षमै आफूलाई खारेर पछि एमाले हुँदै मधेशकेन्द्रित दल चलाएका प्रभु साह पनि यहीमा मोर्चामा सामेल छन् । पछिल्लो समय मधेशमा वैकल्पिक शक्ति बनाउने प्रयास गरेका चर्चित नाम डा. सीके राउतदेखि राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति बन्ने यात्रा तय गर्दा रास्वपाका सारथी रहेका सन्तोष परियार पनि अहिले यो मोर्चाका हिस्सेदार बनेका छन् । यो मोर्चाले पछिल्लो समय मधेशमा प्रतिस्पर्धी र एकप्रकारले शत्रुतापूर्ण राजनीतिक सम्बन्ध रहेका उपेन्द्र यादव र डा. सीके राउतलाई समेत एक ठाउँमा ल्याएको छ ।साभार : अखप












