थपलियाको ‘बेहोस प्रकरण’ नाटक भएको ओलीको ब्रिफिङ…..

विराटनगर –     भक्तपुरको गुण्डुस्थित ओली निवासमा एक हप्ता अगाडि अर्थात् साउन १८ गते बागमती प्रदेशका १७ जना सांसद र एमालेका शीर्ष नेताहरूबिच करिब ५ घण्टा लामो छलफल भयो। बागमतीमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा केन्द्रित भनिएको उक्त बैठकमा अध्यक्ष ओलीले हप्कीदप्की गर्दा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया ढलेर बेहोस भएको समाचार फैलियो। अध्यक्ष ओलीले सरकार निर्माणका विषयमा समन्वय अभाव, संसदीय दलको परिचालन लगायतका विषयमा नसकेको भन्दै थपलियालाई हप्काएको प्रचार पनि भयो। त्यसैक्रममा थपलिया भक्कानिएर अस्वस्थ भई भुइँमै ढले र राति १२ बजे उनलाई मध्यपुर थिमि अस्पताल भर्ना गरिएको थियो। अहिलेसम्म उनी डिस्चार्ज भएका छैनन्। थपलिया ढलेको विषयमा ओलीले एकतर्फी प्रचार भएको भन्दै निकटका नेता कार्यकर्तासँग असन्तुष्टि राख्ने गरेको कोशी प्रदेशकी एक सांसद बताउँछिन्। ओली निकट कोशी प्रदेशकी सांसद मीना श्रेष्ठले मंगलबार अध्यक्ष ओलीसँग ग्रुपमा कुराकानी भएको बताइन्। ‘त्यो दिन के भएको थियो भन्ने कुरा सबै उहाँले हामीलाई सुनाउनुभयो,’ श्रेष्ठले भनिन्, ‘यहाँ केही भएको होइन, घुर्की लाएर हिँडेको भनेर भन्नुभयो। छलफलका क्रममा थपलियाले आफूलाई अब केही पनि चाहिँदैन भनेर हिँडेको र एकछिनपछि फर्किएर ओलीको हातमा ढोग्दै ‘म गएँ’ भन्दै राम्रैसँगले हिँडेको ओलीको ब्रिफिङ रहेको श्रेष्ठले बताइन्। ‘केही चाहिँदैन, केन्द्रीय सदस्य, प्रदेश सदस्य पनि, म हिँडेँ भन्दै हिँडेका थिए,’ ओलीले भनेको कुरा उद्धृत गर्दै श्रेष्ठले भनिन्, ‘त्यसरी रिसाउनु हुन्न भनेर निरु कमरेडले भनेपछि फर्केर आएर बुबाको हात तानेर, हात ढोगेर म गएँ भन्दै यहाँबाट राम्रैसँगले हिँडेको मान्छे हो। पछि आफूलाई बदनाम गर्न अस्पताल भर्ना भएको ओलीले बताउने गरेका छन्। ‘ओपन हार्ट सर्जरी गरेको बिरामी केही दिनमै डिस्चार्ज हुन्छ। मिर्गौला प्रत्यारोपण गरेको बिरामी पनि चार-पाँच दिनमै घर फर्किन्छ। मुटुमा स्टेन्ट राखेको वा पत्थरी फालेको बिरामी त भोलिपल्टै डिस्चार्ज हुन्छन्। तर, मुख्यमन्त्री खान पाइएन भनेर नाटक गर्दै पार्टी र नेताको बदनाम गर्ने ‘नक्कली बिरामी’ चाहिँ १० दिनसम्म अस्पतालमै भर्ना छन्, अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक छैन,’ ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भनिन्, ‘त्यसमाथि आसेपासेको भेटघाट, अस्पतालबाटै गुटको खेती र पार्टी कमजोर बनाउने खेल, अब यो नौटङ्की असह्य भइसक्यो। केपी ओलीको बोली साँच्चै यस्तो ‘बाण’ हो र ? लागेपछि १० दिन अस्पताल बस्दा पनि निको नहुने ? सत्ता स्वाद चाख्न पाइन्न भन्ने लागेर गरेको पार्टी कमजोर बनाउने नाटक बन्द हुनुपर्छ। ओलीले कुराकानीका क्रममा आफैँ सङ्ख्या पुर्‍याउन नसकेको र सङ्ख्या पुर्‍याउन बरु सबैलाई भनिदिएको बताएका थिए। ‘यस्तो कुरामा बोलीले बेहोस हुने भए त हामी कैयौँपटक बेहोस हुँदै, अस्पतालमा भर्ना हुँदै, मर्दै गरेका हुने थियौँ,’ श्रेष्ठले भनिन्। मिडियामा उक्त घटनाको विषय सार्वजनिक भएको देखेर आफू छक्क परेको ओलीले बताए। ‘त्यसो सुनेर त म छक्क परेँ..’, ओलीको भनाइ उद्धृत गर्दै उनले भनिन्। एमाले बागमतीमा अध्यक्ष ओली थपलियालाई दलको नेता वा मुख्यमन्त्री बनाउने पक्षमा नभएको बताइन्छ। उनले यसअघि नै थपलियालाई हटाएर आफ्ना विश्वासपात्र किरण थापा मगरलाई संसदीय दलको नेता बनाउने चाहना राखेका थिए। त्यसका लागि १९ जना सांसदले हस्ताक्षर गरिसकेको बताइएको छ। २५ सदस्यीय संसदीय दलमा १९ जनाको हस्ताक्षर हुनुले थपलिया अल्पमतमा परेको प्रस्ट देखाउँछ। तर, नेताहरूको दबाबपछि ओलीले थपलियालाई नै नेतृत्व दिने सहमति जनाएका थिए। मुख्यमन्त्रीको विषयमा भने ओली अनुत्तरित थिए। दलको नेतामा थपलियालाई च्यालेन्ज गरेका मगर दुईपटक प्रदेशको स्वास्थ्यमन्त्री भइसकेका छन्। ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य कायम छन्। जसका कारण सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक छ। एमालेसँग २५ (उपसभामुख सहित) र नेकपासँग २६ सांसद छन्। वाम गठबन्धनबाट सरकार गठनका लागि आवश्यक बहुमत उनीहरूसँग पुग्दैन। दुवै वाम दलको सांसद सङ्ख्या ५१ मात्र हुन्छ। बहुमतका लागि थप २ मत आवश्यक पर्छ। यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वा हाम्रो नेपाली पार्टीको समर्थन निर्णायक छ। तर, हाल हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा सहभागी भइसकेको छ। जसका कारण वाम दलहरूलाई नेपाल मजदुर किसान पार्टी वा राप्रपा नै अन्तिम विकल्प मानिएको छ।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार