सहज रूपमा कहिले पाइन्छ खाना पकाउने ग्यास ?…..

काठमाडौँ –    अहिले काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । ग्यास डिपोहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । सडकदेखि सदनसम्म ग्यासकै विषयमा चर्चा छ । सहज रूपमा कहिले पाइन्छ ग्यास भन्नेमै सबैको चासो छ । सरकार तथा ग्यास उद्योगीहरूका अनुसार बजारमा ग्यासको आपूर्ति बिस्तारै सहज हुन थालेको छ, तर उपभोक्ताले लाइन बस्न नपर्ने गरी पूर्ण रूपमा अवस्था सामान्य हुन अझै करिब एक महिना लाग्ने देखिन्छ । अहिले बजारमा देखिएको ग्यास अभावको मुख्य कारण आपूर्ति शृङ्खलामा परेको एक्कासि चाप र उपभोक्ताको मनोविज्ञान हो । पश्चिम एसिया (मध्यपूर्व) मा चुलिएको द्वन्द्वका कारण ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ किलो) मात्र ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । आधा सिलिन्डर ग्यास वितरण गर्दा थोरै ग्यासले पनि धेरैभन्दा धेरै उपभोक्ताको भान्सा बलेको थियो । बजारमा एक प्रकारको सन्तुलन कायम थियो । तर, ग्यासको आयात केही सहज भएसँगै निगमले गत असार ३१ गतेदेखि पुनः साबिककै १४.२ किलोको भरी सिलिन्डर ग्यास वितरण सुरु गर्‍यो । विगतमा अभाव झेलिसकेका उपभोक्ताले भरी सिलिन्डर पाउन थालेपछि एक्कासि ठुलो सङ्ख्यामा ग्यास खरिद गर्न थाले । उपभोक्ताहरू आफूसँग भएका सबै खाली सिलिन्डर लिएर बजार पुगे । बजारमा आधा सिलिन्डर ग्यास पठाउँदा बनेको सन्तुलन भरी सिलिन्डर बिक्री सुरु भएलगत्तै बिग्रियो र एकाएक ग्यास पाउन मुस्किल पर्न थालेको सरोकारवाला बताउँछन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार अबको दुई–तीन दिनभित्रै उपभोक्ताले ग्यास आपूर्तिमा केही सहजता आएको महसुस गर्नेछन्, तर बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै एक महिना लाग्नेछ । अध्यक्ष चन्दका अनुसार पछिल्लो समय भारतबाट ग्यास बुलेट आउने क्रम बढेको छ । सोमबारमात्रै करिब ११५ देखि १२५ वटा बुलेट नेपाल भित्रिएका छन् भने मंगलबार वीरगञ्ज नाकाबाट ९० देखि ९५ वटा ग्यास बुलेट पास हुँदैछन् । भारतको बरौनी रिफाइनरीमा मर्मतसम्भार भइरहेका कारण विगतमा त्यहाँबाट दैनिक १०–१५ वटामात्र गाडी आइरहेका थिए, तर सोमबार त्यहाँबाट ४८ वटा बुलेट भरिएका छन्,’ अध्यक्ष चन्दले भने, ‘तीमध्ये अधिकांश काठमाडौँ उपत्यकाका लागि हुन् । बरौनीबाट लोड भएको ग्यास ३ दिनभित्रै बजारमा आइपुग्छ । यसबाहेक भारतको पारदिप (ओडिशा) बाट पनि ग्यास आइरहेको छ । तर, त्यहाँबाट नेपालको दुरी करिब १२५० किलोमिटर रहेकाले लोड भएको ग्यास उपभोक्तासम्म पुग्न १० दिनसम्म लाग्ने गरेको छ । भारतको हल्दिया र दुर्गापुरबाट आउने ग्यास रोकिएको भए पनि अहिले मथुराबाट अलिकति बढाएर ल्याइएको उद्योगीहरू बताउँछन् । बजारको माग धान्न नेपाल आयल निगमले आयात कोटा पनि वृद्धि गरेको छ । अघिल्लो महिना ५० हजार मेट्रिक टन कोटा रहेकोमा यस महिना बढाएर ५५ हजार मेट्रिक टन पुर्‍याइएको छ । दैनिक करिब १३० देखि १४० गाडी लोडिङ भइरहे पनि बजारमा तत्कालै शतप्रतिशत सहज नहुने चन्दको भनाइ छ । विगत दुई महिनामा करिब ३० हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो, जसको असर बजारमा पर्‍यो । अहिले ती सबै खाली सिलिन्डरहरू पुनः भर्नुपर्ने भएकाले थप समय लाग्नेछ।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार