काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ। पछिल्लो समय परेको अविरल वर्षाले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन बनाएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग भइरहेको छ। बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका-२ चालिसेमा भदौ १ गते बिहान ५:४५ बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने बीपी राजमार्ग र मकवानपुरको हेटौँडा-ठिङ्गन हुँदै ललितपुर आउने कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीको अद्यावधिक विवरणमा ‘सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको’ उल्लेख छ। यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड पनि साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। कोशी प्रदेशमा अविरल वर्षाका कारण इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्न सकिने व्यवस्था मिलाइएको छ। सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा खाँदबारी-किमाथाङ्का सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग भने पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित रुप्सेमा पहिरो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। सोही सडक खण्डको मुस्ताङस्थित कैकु खोलामा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्। लमजुङको मर्स्याङ्दीस्थित रामबजारमा पहिरोका कारण बेँसीसहर-मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहे पनि त्यहाँ वैकल्पिक बाटोको व्यवस्था छ। बागलुङको कालीगण्डकी करिडोर र बागलुङ-बेनी सडक खण्ड पनि पहिरोका कारण एकतर्फी मात्र खुला छन्। दुईतर्फी खुलाउन समय लाग्ने प्रहरीले स्पष्ट पारेको छ। उता लुम्बिनी प्रदेशको प्युठानस्थित रुमालेमा साउन ३१ गते खसेको पहिरोले भिंगृ-स्वर्गद्वारी सडक खण्ड अझै पनि पूर्ण रूपमा बन्द गराएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढी र पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड दुई ठाउँमा अवरुद्ध भएको छ। आठबीसकोटको रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्ण रूपमा बन्द भएको हो। यसैगरी, सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभाग र प्रहरीको तथ्याङ्कमा उल्लेख छ। अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायहरूले पहल गरिरहे पनि लगातारको वर्षाले काममा अवरोध पुर्याएको छ।साभार : रापा











