वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको बताएका छन् । उनको यो भनाइ आफूहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो । इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन् । वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखिएको छ । यसबिच विश्व बजारमा कच्चा तेलको मूल्य जुलाईयताकै उच्च स्तरमा पुगेको छ । इरानसँगको संकट समाधान हुने आशा कमजोर भएपछि तेल आपूर्तिमा सम्भावित अवरोधको चिन्ताले मूल्य बढाएको हो ।
स्ट्रेट अफ होर्मुज पुनः खोल्न इरानका सर्त:
इरानले विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग होर्मुज जलमार्ग पुनःखोल्न आफ्ना प्रमुख मागहरू दोहोर्याएको छ । यसको जवाफमा ट्रम्पले सामाजिक सञ्जालमा जलमार्गको तस्बिर पोस्ट गर्दै त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा उल्लेख गरेका छन् । होर्मुज हुँदै हुने समुद्री आवागमन भने युद्धअघिको तुलनामा निकै घटेको छ । पछिल्लो २४ घण्टामा कम्तीमा सातवटा व्यावसायिक जहाज मात्र स्ट्रेट अफ होर्मुज बाट गुज्रिएको तथ्यांक सार्वजनिक भएको छ । युद्धअघि दैनिक औसत करिब ११० जहाजले होर्मुज पार गर्ने गरेका थिए । बाब अल–मन्देब जलमार्गबाट पनि व्यापारिक जहाजको आवागमन दबाबमा रहेको छ । दुवै जलमार्ग वरिपरि जीपीएस ‘स्पुफिङ’का कारण जहाजको वास्तविक स्थान पहिचान गर्नसमेत कठिनाइ भइरहेको बताइएको छ ।
यूएईतर्फ इरानबाट क्षेप्यास्त्र प्रहार:
क्षेत्रीय तनाव विस्तार हुँदै गएको संकेत पनि देखिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आफ्नो दिशातर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जनाएको छ । यमनमा इरान समर्थित हुथीहरूले साउदी अरबको एउटा तेल प्रशोधन केन्द्रलाई पुनः निशाना बनाएको बताएका छन् । यसले इरानसँग जोडिएको द्वन्द्व मध्यपूर्वका अन्य क्षेत्रमा फैलिन सक्ने जोखिम बढाएको छ ।
सिरियामा इजरायली आक्रमणप्रति अमेरिकाको आपत्ति:
यसैबीच इजरायलले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको अबु अल–दुहुर सैन्य विमानस्थलमा हवाई आक्रमण गरेको छ । अमेरिकी प्रशासनले उक्त आक्रमणलाई ‘अनावश्यक तनाव वृद्धि’ भन्दै आलोचना गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सम्भावित टर्किस सेना तैनाथीबाट इजरायलको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै आक्रमणको बचाउ गरेका छन् । उनका अनुसार सिरियाले अबु अल–दुहुर विमानस्थलमा टर्किस सेना तैनाथ गर्ने तयारी गरेपछि इजरायलले कारबाही गरेको हो । अमेरिकी विशेष दूत टम बाराकले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै थप सैन्य घटनाभन्दा ‘तार्किक संवाद’लाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन् । यसरी इरान–अमेरिका संवादको सम्भावना कमजोर भइरहेका बेला स्ट्रेट अफ होर्मुजको तनाव, तेल बजारमा बढ्दो दबाब र पश्चिम एशियाका विभिन्न मोर्चामा भइरहेका सैन्य गतिविधिले क्षेत्रीय संकट थप जटिल बन्ने संकेत गरेका छन् ।साभार : रापा












