काठमाडौं – विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको संघीय सरकारी ऋण ४० ट्रिलियन डलर पुगेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबार संघीय ऋणले अहिलेसम्मकै उच्च बिन्दु पार गर्दै ४० ट्रिलियन डलर पुगेको हो । सीएनएनका अनुसार अमेरिकाको सरकारी ऋण पछिल्ला वर्षमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढिरहेको छ । ऋणको आकार बढेसँगै त्यसको ब्याज तिर्नुपर्ने दायित्व पनि तीव्र रूपमा बढेको छ । आर्थिक अवस्था तुलनात्मक रूपमा राम्रो रहेको समयमा समेत सरकारी ऋण निरन्तर बढिरहेकाले अर्थशास्त्री तथा बजेट विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पिटर जी पिटरसन फाउन्डेसनका प्रमुख कार्यकारी माइकल पिटरसनका अनुसार यही गतिमा ऋण बढ्दै गए अबको ६ वर्षमा अमेरिकी सरकारी ऋण ५० ट्रिलियन डलर पुग्न सक्छ । १० वर्षभन्दा कम अवधिअघि मात्रै ऋण २० ट्रिलियन डलर थियो । अहिले ४० ट्रिलियन पुगेको छ,’ उनले भनेका छन्, ‘यसले अमेरिकी अर्थतन्त्र र देशको भविष्यलाई जोखिममा पारिरहेको छ ।
सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढ्दो सरकारी खर्च:
अमेरिकी सरकारी ऋण बढ्नुका प्रमुख कारणमध्ये सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढ्दो सरकारी खर्च पनि हो । अमेरिकाको जनसंख्या वृद्ध हुँदै गएको छ । दैनिक करिब १० हजार ‘बेबी बुमर’ पुस्ताका अमेरिकी अवकाशमा जाने गरेका छन् । उनीहरूको आयु पनि बढिरहेको छ । यसका कारण सामाजिक सुरक्षा तथा मेडिकेयर कार्यक्रमअन्तर्गत सरकारको खर्च बढिरहेको छ । तर यी कार्यक्रमलाई धान्न आवश्यक श्रमशक्ति र करदाताको संख्या सोही अनुपातमा बढ्न नसक्दा दीर्घकालीन वित्तीय दबाब थपिएको छ । त्यस्तै, पछिल्ला दशकमा अमेरिकी कंग्रेसले कर कटौती र सरकारी खर्च वृद्धि गर्ने विभिन्न कार्यक्रम पारित गरेको छ । सन् २०१७ को ‘ट्याक्स कट्स एन्ड जब्स एक्ट’ राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालपछिको कर तथा खर्चसम्बन्धी कार्यक्रम र कोरोना महामारीका क्रममा ट्रम्प तथा पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा ल्याइएका राहत प्याकेजले पनि सरकारी ऋण बढाउन योगदान गरेका छन् । अमेरिकी सरकारी ऋण ४० ट्रिलियन डलर पुग्ने अनुमान केही वर्षअघिको प्रक्षेपणभन्दा निकै छिटो पूरा भएको हो । सन् २०२३ मा कंग्रेसनल बजेट अफिस (सीबीओ) ले अमेरिकाको संघीय ऋण सन् २०२८ को वित्तीय वर्षमा ४० ट्रिलियन डलर पुग्ने अनुमान गरेको थियो । तर पछिल्लो तथ्यांकअनुसार पछिल्ला पाँच महिनामै सरकारी ऋण १ ट्रिलियन डलरले बढेको छ । अमेरिकी सरकारको खर्च आम्दानीभन्दा बढी हुँदा बजेट घाटा पनि बढिरहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै अमेरिकी सरकारको बजेट घाटा १.८ ट्रिलियन डलर पुगेको छ । अमेरिकी आर्थिक वर्ष सेप्टेम्बर ३० मा समाप्त हुन्छ ।
ब्याज तिर्नै १ ट्रिलियन डलरभन्दा बढी:
सरकारी ऋण बढ्नुका साथै ब्याजदर बढ्दा अमेरिकाले ऋणको ब्याज तिर्न ठूलो रकम खर्च गर्नुपरेको छ । केही वर्षअघिसम्म न्यून ब्याजदरका कारण अमेरिकी सरकारले तुलनात्मक रूपमा सस्तोमा ऋण लिन सक्थ्यो । तर कोरोना महामारीपछि बढेको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि सरकारको ऋण लागत पनि बढेको हो । चालु आर्थिक वर्षमा अमेरिकी सरकारले सरकारी ऋणको ब्याज तिर्न मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेट’का वरिष्ठ नीति निर्देशक मार्क गोल्डवाइनका अनुसार पछिल्ला पाँच वर्षमा ऋणको ब्याज खर्च तीन गुणाभन्दा बढी बढेको छ । ब्याज खर्च अहिले मेडिकेयर कार्यक्रमको खर्चसँग लगभग बराबरीमा पुगेको छ । सामाजिक सुरक्षा पछिको दोस्रो ठूलो संघीय खर्चका रूपमा ब्याज भुक्तानी देखिन थालेको छ । अमेरिकाले ऋणको ब्याज तिर्न रक्षा बजेटमा भन्दा बढी रकम खर्च गरिरहेको छ । बालबालिकासम्बन्धी कार्यक्रमको खर्चभन्दा ब्याज भुक्तानी करिब ५० प्रतिशत बढी रहेको गोल्डवाइनले बताएका छन् । यसले सरकारलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्न उपलब्ध स्रोत घटाउँदै लगेको छ । हामी भविष्यमा लगानी गर्नुभन्दा विगतमा लिएको ऋणको सेवा गर्न धेरै खर्च गरिरहेका छौं,’ गोल्डवाइनले भनेका छन्, ‘हाम्रो ऋणले थप ऋण जन्माइरहेको छ । यसले दुष्चक्र सिर्जना गरेको छ ।’
ऋण बढ्दा बन्ड बजारमा पनि दबाब:
अमेरिकी सरकारी ऋणको बढ्दो बोझले बन्ड बजार र समग्र अर्थतन्त्रमा समेत असर पार्न थालेको छ । मंगलबार ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ । १० वर्षे ट्रेजरीको प्रतिफल पनि राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयताकै उच्च स्तरनजिक कारोबार भइरहेको छ । सरकारी घाटा बढ्नु, बजारमा सरकारी तथा कर्पोरेट बन्डको आपूर्ति बढ्नु, महँगीप्रतिको चिन्ता र फेडरल रिजर्भको आगामी ब्याजदर नीतिबारे अनिश्चितताका कारण बन्डको प्रतिफल बढिरहेको छ । सरकारी ऋणको जोखिम बढेको ठान्दा लगानीकर्ताले सरकारलाई ऋण दिँदा बढी प्रतिफल माग गर्छन् । त्यसको प्रत्यक्ष असर बन्डको ब्याजदरमा पर्छ । अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफलले घर कर्जादेखि सवारीसाधन ऋण र व्यवसायिक कर्जाको ब्याजदरलाई समेत प्रभावित गर्छ । त्यसैले ट्रेजरीको प्रतिफल बढ्दा सर्वसाधारण र व्यवसाय दुवैका लागि ऋण महँगो हुन्छ । यसले उपभोक्ताको खर्च घटाउन तथा निजी क्षेत्रको लगानीमा दबाब सिर्जना गर्न सक्छ । त्यसमाथि सरकारका लागि नयाँ ऋण लिन पनि महँगो हुँदै जान्छ, जसले ऋणको बोझ झन् बढाउन सक्छ । ४० ट्रिलियन डलरको ऋण सरकारको लेखा प्रणालीमा मात्र सीमित छैन । यसको प्रभाव अन्तत: अर्थतन्त्र र आम नागरिकको खल्तीमा पुग्छ,’ कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले भनेकी छन् । अमेरिकी ट्रेजरी विभागले बुधबार आगामी महिनाहरूमा दीर्घकालीन सरकारी बन्डको ‘बाइब्याक’ बढाउने घोषणा गरेको छ । विश्लेषकहरूले यसलाई बढ्दो बन्ड प्रतिफल र त्यसले ऋणको लागतमा पार्न सक्ने प्रभावप्रति अमेरिकी सरकारको चिन्ताका रूपमा हेरेका छन् । यसअघि अगस्टको सुरुवातमा भएको ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको लिलामीमा प्रतिफल सन् २००१ यताकै उच्च पुगेको थियो । यसले लगानीकर्ताले अमेरिकी सरकारी ऋण राख्न थप प्रतिफल माग गरिरहेको संकेत गरेको छ । सन् २०२५ मा मुडिजले पनि अमेरिकी ऋणको रेटिङ घटाएको थियो । त्यससँगै अमेरिकाले आफ्नो अन्तिम ‘परफेक्ट क्रेडिट रेटिङ’ गुमाएको थियो । यद्यपि अमेरिकी ऋण अझै पनि प्रमुख विकसित अर्थतन्त्रहरूकै उच्च स्तरको ऋणमध्ये पर्छ । अमेरिकामात्र होइन, बेलायत, फ्रान्स, जर्मनी र जापानजस्ता विकसित अर्थतन्त्र पनि बढ्दो सरकारी खर्च, बजेट घाटा र ऋणका कारण दबाबमा छन् । ती देशका सरकारी बन्डको प्रतिफल पनि पछिल्ला वर्षमा बहुवर्षीय उच्च स्तरनजिक पुगेको छ ।–सीएनएनबाट












