काठमाडौं – जेनजी आन्दोलनपछि पुराना नेताहरू देउवा, ओली र दाहाल पुनर्स्थापनाका लागि सक्रिय भएको विश्लेषण गरिएको छ । कांग्रेसभित्र देउवाको पुनरागमन प्रयासलाई पार्टीपंक्ति र सरकारी रवैयाले मलजल गरिरहेको र वैधानिकता विवाद अदालत पुगेको लेखमा भनिएको छ । नयाँ दल र सरकारले औचित्य पुष्टि गर्न र संस्थागत सुधार गर्न नसके जेनजी विद्रोहको उपलब्धि पुराना पात्रको पुनरागमनमा खेर जाने जोखिम रहेको लेखले चेतावनी दिएको छ । साउन सकिएर भदौ लागिसक्यो। गत वर्ष यही बेला जेनजी विद्रोहका लागि समाजको गर्भमा नागरिक असन्तुष्टि र आक्रोशको लाभा उम्लन सुरु गरेको थियो। विस्फोटक रूप लिएको त्यो नवयुवा विद्रोहको एक वर्ष पुग्दै गर्दा जसको विस्थापनका लागि त्यति ठूलो आन्दोलन भएको थियो, तिनै कथित शीर्ष पात्रहरू आज पार्टी र सत्तामा पुनर्स्थापनाका लागि विनासंकोच जुर्मुराइरहेका छन्। झलक्क हेर्दा सामान्य लाग्ने यी राजनीतिक घटनाक्रम तीन जना बुढा नेताको सत्तालोभ मात्र होइन। राजनीतिशास्त्री क्रेन ब्रिन्टनले आफ्नो पुस्तक ‘द एनाटोमी अफ रिभोलुसन‘ मा झन्डै एक शताब्दीअघि नै यस्ता राजनीतिक अभ्यासको रुपरेखा बारे स्पष्ट पारिसकेका थिए । ब्रिन्टनले क्रान्तिलाई एकप्रकारको ज्वरोसँग तुलना गरेका थिए। समाजमा अन्याय र असन्तुष्टि बढ्दै जादा क्रान्तिको ज्वरो आउँछ, नागरिक तातिन्छन् र परिवर्तनका लागि सडकमा उत्रिन्छन्। तर समाज सधैँ ज्वरोको अवस्थामा रहन सक्दैन। ब्रिन्टनका अनुसार, क्रान्तिपछि एउटा यस्तो विन्दु आउँछ, जसलाई उनले ‘थर्मिडोरियन रियाक्सन’ भनेका छन् । त्यतिबेला समाज क्रान्ति र निरन्तर आन्दोलनबाट थाकेर स्थिरता र शान्तिको खोजीतिर फर्किन थाल्छ। यही चरणमा नागरिकले ‘नयाँ’ र ‘पुरानो’बीचको भेद छुट्याउने धेरै कष्ट बेसाउन छाडिदिन्छन्, वा त्यसलाई छुट्याएर प्रश्न गर्ने राजनीतिक ऊर्जा र क्षमता नै कमजोर हुँदै जान सक्छ। समाजको यही स्वभावले परिवर्तनकारी ऊर्जालाई निमोठ्न खोजेको छ । हावा बिस्तारै पुराना शीर्ष नेताहरूको अनुकूलतामा चल्न थालेको छ । यही मौका छोपेर पुरानो राजनीतिक अभिजात वर्ग सत्तामा फर्कन खोजिरहेको छ, जुन सिंहासनबाट जेनजी आन्दोलनले उनीहरूलाई लघारेर सडकमा पुर्याएको थियो । देउवा, ओली र दाहालको अहिलेको अन्तिम छटपटी त्यही ‘थर्मिडोरियन रियाक्सन’ को नेपाली संस्करण हो । नेतात्रयबाट प्रायश्चित पर्खिरहेको नयाँ पुस्तालाई उनीहरूले प्रतिगमनको जवाफ फर्काउन चाहिरहेका देखिन्छन्, जुन नेपाली समाजको राजनीतिक स्वास्थ्यका लागि निकै हानिकारक साबित हुनसक्छ ।साभार : अखप












