काठमाडौं – २१ वर्षअघि कलकल बग्ने कोल्पु खोलामा अहिले लिचेट (फोहोरबाट निस्कने विषालु रसायन) बग्छ । जसका कारण कोल्पु खोला जीवजन्तुविहीन बनेको छ । अहिले कोल्पु खोला ‘कालु खोला’ भएको छ । ऊ हेर्नुहोस् त कालो लिचेट बगेको,’ धादिङ धुनिवेशी–१ का ७६ वर्षीय ध्रुवप्रसाद उप्रेती खोलाको रूप नै फेरिएकोमा आक्रोशित देखिन्थे । सिसडोल–बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विर्सजन गर्न थालेपछि खोलामा लिचेट, हावामा हरक मिसिँदा जलचर र थलचर जीवजन्तुको अस्तित्व संकटमा परेको छ । पहिला हामी पौडी खेल्थ्यौँ । दिनभरि माछा मार्थ्यौं । खोलामा ठूला–ठूला दह थिए । अहिले त एउटा डुबुल्की मार्ने ठाउँ पनि छैन,’ उप्रेती भने, ‘हिजो सिधै पानी पिउन मिल्ने कल्पु खोला अब टेक्न पनि नसकिने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) फोहोरमैला व्यवस्थापनका वैज्ञानिक डा. रवीन्द्र ढकाल लिचेटका कारण खोलामा जैविक वासस्थान सकिएको बताउँछन् । उनका अनुसार फोहोरमा धातुको मात्रा बढी हुन्छ । लिचेटमा प्याथोजेनिक रोग लागाउने हानिकारक जीवाणु हुन्छ । माइक्रोप्लास्टिकको मात्रा पनि बढी हुन्छ,’ उनले भने, ‘मानिस, पशुपन्छी र बोटबिरुवामा प्रत्यक्ष असर पर्छ । फोहोरका कारण मान्छे मात्र होइन यो क्षेत्रमा अनाज उत्पादनमा समेत ह्रास आएको छ । धुनिबेसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ का साथै नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ नम्बर वडाका कृषक मारमा परेका छन् । लिचेट खेतमा पर्यो भने धानको गेडा लाग्दैन । पराल मात्रै बाँकी रहन्छ,’ स्थानीय खेमबहादुर थापाले भने, ‘मानिसलाई मात्र होइन, बाली र पशुमा समेत असर परेको छ । फोहोर लैजानुअघि आफ्नै खेतबारीको अनाजले परिवार धानिन्थ्यो । तर उत्पादनमा ह्रास आएपछि त्यस क्षेत्रका स्थानीय बजारमा निर्भर हुन थालेका छन् । स्थानीयका अनुसार धान, गहुँ, मकै, उखु, सुन्तला, अम्बा, भोगटे, आरु र नास्पाती प्रशस्त हुन्थ्यो ।
रोगले गाउँ नै थलियो, एक घर एक बिरामी:
पशुपालन पनि संकटमा परेको छ । स्थानीय बद्रीबहादुर ओझाका अनुसार पहिला गाई, भैँसी र बाख्रा पालेर दूध, दही र घिउ बिक्री हुने गरेको थियो । ‘अहिले पशुपालन गर्न सकिँदैन । बाख्रा पाल्यो भने बिरामी पर्छ । कुकुरले टोक्छ वा मर्छ । यो घरघरको समस्या हो,’ उनले भने, ‘फलफूल पनि किरा लागेर सकिन्छ । स्थानीय कमला ओझाले बाख्रापालन गरेकी थिइन् तर फोहोरका कारण मरेको गुनासो गरिन् । ‘बस्तुभाउ धेरै मरे,’ उनले भनिन् । फोहोरका कारण बाख्रा, भैँसी, गाई लगायतका पशु चौपाया मर्न थालेका छन् । ‘पशुपन्छी अत्यधिक मर्ने गरेका छन् । फोहोर मात्र २०/२५ वटा गाई, भैंसी, बाख्रा मरे,’ नुवाकोट ककनी गाउँपालिकाका–१ का वडाध्यक्ष पदम बलामीले भने । यतिसम्म कि, फोहोरमा सिनो खाएर आएका कुकुरले पशु चौपायलाई टोक्ने गरेका छन् । ‘फोहोरमा खाएर हुलका हुल कुकुर गाउँ पस्छन् । बाख्रा, गाई र भैंसीको कल्चौडो टोक्छन् । पाडापाडी, बाच्छाबाच्छीलाई पनि टोकेर रोग लागेर मरेका छन्,’ वडाध्यक्ष घिमिरले भने, ‘गाउँभरि समस्या छ । केही गरी समाधान गर्न सकिएको छैन । यस क्षेत्रका कृषकले उत्पादन गरेको तरकारीदेखि खसीबाख्रासम्म बिक्री हुँदैन । फोहोरमा उत्पादन भएको भनेर बिक्रीवितरण नहुने स्थानीयको गुनासो छ ।साभार : अखप












