१ करोड डलर इनामको घोषणा…..

तेहरान –     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना तथा दैनिक गतिविधिबारे ग्राफिक्समार्फत विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ । अमेरिकी सुरक्षा निकायहरूले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ । ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिएको छ । यद्यपि, उपलब्ध विवरणमा उक्त इनामसम्बन्धी घोषणा इरान सरकारको औपचारिक नीति वा निर्णय हो भन्ने स्वतन्त्र पुष्टि भने गरिएको छैन ।

इरानमाथि अमेरिकाको थप आर्थिक नाकाबन्दी:

त्यस्तै, अमेरिका–इरान तनाव थप चर्किँदै गएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानलाई प्राप्त हुने सबै प्रमुख आर्थिक तथा वित्तीय सहयोगको बाटो बन्द गर्ने उद्देश्य रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि नयाँ प्रतिबन्धमा सहभागी हुन आग्रह गरेका छन् । अमेरिकाको नयाँ कदमप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी सरकारकी प्रवक्ता फातेमा मोहाजेरानीले आर्थिक कठिनाइका बाबजुद राष्ट्रपति र देशको नेतृत्वले परिस्थितिको सामना गर्ने बताएकी छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना पनि पूर्ण रूपमा अस्वीकार नगरिएको बताएका छन् । उनले स्ट्रेट अफ होर्मुजसहित मध्यपूर्वका अन्य क्षेत्रमा पनि आवश्यक परे सैन्य शक्ति प्रयोग गर्नबाट अमेरिका पछि नहट्ने संकेत दिएका छन् ।

होर्मुज बन्द गर्ने इरानको चेतावनी:

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले आर्थिक दबाबको अभियान जारी राखेमा खाडी क्षेत्रबाट हुने सबै तेल निर्यात रोक्न सकिने चेतावनी दिएका छन् । उनका अनुसार इरानमाथि अमेरिकी प्रतिबन्धलाई कुनै पनि देशले समर्थन गरे त्यसलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइनेछ । यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ । बेलायती समुद्री व्यापार सञ्चालन निकायका अनुसार घटना ओमानको अश शिशाहबाट करिब ९ समुद्री माइल उत्तरपूर्वमा भएको हो । जहाजका चालक दल भने सुरक्षित रहेको बताइएको छ । तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी मंगलबार तेहरान जाने भएका छन् । उनले इरानी अधिकारीहरूसँग स्ट्रेट अफ होर्मुजको अवस्थालगायत क्षेत्रीय तनावका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार