ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्…..

काठमाडौं –    अध्यक्ष केपी शर्मा ओलीको असहमति भएका कारण एमाले पुनगर्ठन सुझाव संकलन कार्यदलको प्रतिवेदन कार्यान्वयनमा जान सकेको छैन । एमाले सचिवालयले गठन गरेको कार्यदलले महासचिव शंकर पोखरेललाई देशभर संकलन भएको सुझाव समेटेर प्रतिवेदन लेख्ने जिम्मा दिएको थियो । जसअनुसार ६५ पृष्ठको प्रतिवेदन महासचिव पोखरेलले कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएका छन् । थापा मार्फत प्रतिवेदन हेरेपछि रिसाएका ओलीले पुनर्गठनको पक्षमा उभिने नेताहरूलाई ‘आवारा’ को संज्ञा दिँदै कार्बाही गरिने चेतावनी दिएका छन् । ओलीले कार्यान्वयनमा लैजान नचाहेको उक्त प्रतिवेदन अनलाइनखबरले प्राप्त गरेको छ । दुई खण्ड र दश परिच्छेदमा लेखिएको प्रतिवेदनको निष्कर्ष एमाले यथास्थितिमा रहन सक्दैन भन्ने नै छ । निर्वाचनको समीक्षाबाट शुरू भएको प्रतिवेदनमा विगतमा पार्टी र नेतृत्वका तर्फबाट भएका गल्ती र कमजोरीहरू बुँदागत रुपमा औंल्याइएको छ । तर निर्वाचनकै समीक्षा गर्दा पनि एमालेले विगतमा गर्दै आएका दाबी भन्दा भिन्न तर्कहरू समावेश गरिएको छ ।

ओली र उनी निकट नेताहरूले २१ फागुनको निर्वाचनमा एमाले पराजित हुनुलाई बाह्य हस्तक्षेप र षडयन्त्र भन्ने गरेका थिए । प्रतिवेदनमा २३–२४ भदौको घटनाबारे पार्टीको निष्कर्ष जनताले अस्वीकार गर्नु, विगतमा सरकारमा बसेर जनताका आकांक्षा सम्बोधन गर्न नसक्नु, पार्टीभित्र समस्या देखिनु, ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु जस्ता कारण उल्लेख गरिएको छ । चौतर्फी प्रहार भइरहेको र सिंगो पार्टीपंक्ति डिफेन्सिभ रहेका बेलामा पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर निर्वाचनमा जाने कुराले निर्वाचनमा पार्टीपंक्ति थप प्रतिरक्षात्मक बन्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ । निर्वाचनको समीक्षापछि प्रतिवेदन पार्टीको संकटमा केन्द्रित छ । र, पार्टीभित्र चरम निराशा रहेको निचोड निकालिएको छ । आमनिर्वाचन पछि सुरु भएको पार्टी सदस्यता नवीकरणको काम अत्यन्तै सुस्त र कमजोर छ । कतिपय सम्पर्कमै आउन नचाहने र कतिपयले यथास्थितिमा नवीकरण नगर्ने सोच बनाएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ । जनतासँगको सम्बन्ध सुधार र संगठन निर्माणका सन्दर्भमा आत्मसमीक्षाको आवश्यकता बोध गरिएको छ । ‘जनताले कुरा बुझेनन्, जनता भ्रममा परे, जनताले गम्भीर गल्ती गरे, अब जनताले दुःख पाउँछन् जस्ता कुरोले पार्टीबाट टाढिन पुगेका जनता पार्टीका पक्षमा फर्कने सम्भावना झनै कमजोर हुन पग्दछ,’ अहिलेसम्म भन्दै आएका कुरा सच्याउन भनिएको छ । प्रतिवेदनले सार्वजनिक क्षमायाचनाकै सुझाव दिएको छ । विशेषगरी जनताले मन दुखाएका घटनाहरूमा पार्टीका तर्फबाट माफी मागिनुपर्ने प्रस्ताव गरिएको छ । भदौ २३ को जेनजी आन्दोलनमा ज्यान गुमाउने नवयुवा र तिनका परिवारप्रति नेतृत्वले समयमै समवेदना र सहानुभूति प्रकट नगर्दा एमाले असंवेदनशील र दम्भी पार्टी हो भन्ने नकारात्मक भाष्य निर्माण गरियो,’ प्रतिवेदनमा पश्चाताप छ ।साभार : अखप

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार