काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् । बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ । समाचार अनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ ।
रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ:
रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो। धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।साभार : अखप












