२९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता…..

काठमाडौँ –    रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ । बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्। बोर्डलाई पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा बढी ट्रेकर्स सोसाइटी मार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्स मार्फत गएका ७१ जना बेपत्ता भएका छन् । अन्य प्रभावित एजेन्सीहरूमा लिफ होलिडे ५५, हिमालयन ग्लेशियर ५२, माउण्टेन गाइड र अन्य रहेका छन्। बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन् । केही पर्यटकहरूको राष्ट्रियता खुल्न अझै बाँकी रहेको बोर्डले जनाएको छ । पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्रेकिङ गाइडहरूसँगको समन्वयमा तथ्याङ्क रुजु गर्ने र खोजी कार्यलाई तीव्रता दिने काम गरिरहेको छ ।

कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति : 

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्। यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ । सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ । विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ। प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ । भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने देखिएको छ। सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार