ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार…..

नुवाकोट-     रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुर्‍यायो। लेदो र गेग्रानसहित आएको भीषण बाढीले हराभरा बस्तीहरू क्षणभरमा खण्डहर बनाइदियो। बगेका भौतिक संरचना र बेपत्ता नागरिकको यकिन तथ्यांक आउन सकेको छैन। अहिलेसम्मको तथ्यांकअनुसार नेपालसहित करिब ३३ देशका करिब ३ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको भनिएको छ। यो संख्या अझै बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ। सुरक्षा निकायतर्फ नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, नेपाल प्रहरीका २७ जना अझै बेपत्ता छन्। सुरक्षाकर्मीसहित अन्य सरकारी कर्मचारी, सर्वसाधारण, आन्तरिक र बाह्य पर्यटक र पावर हाउस तथा हाइड्रो पावरको टनेलमा काम गरेका मजदूरहरू पनि ठूलो संख्यामा बेपत्ता छन्। बाढी आएको पाँच दिन बित्दा पनि अझै उद्धारको काम सकिएको छैन। त्रिशूली थ्री–एसहित टेनलहरू उत्खनन् गरेर हेर्न बाँकी नै छ। नेपाली सुरक्षाकर्मीसहित अहिले छिमेकी मुलुक भारत र चीनका विज्ञ उद्धारकर्ता ल्याएर पनि काम थालिएको छ। जीवितै उद्धारको आशामा निरन्तर काम भइरहेको छ। जीवित उद्धार गरिएकाहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत ओसार्ने गरेको छ। यसरी ओसारिएकामध्ये गम्भीर घाइतेलाई सोझै काठमाडौं ल्याएर विभिन्न अस्पतालमा भर्ना गरिन्छ। सामान्य घाइते तथा उद्धार गरिएकाहरूलाई भने नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूलीमा ल्याउने गरिएको छ।

ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार:

घटना भएको चार दिनपछि नेपाली सेनाले रौतहटको चन्द्रनिगाहारपुर–२ का सन्तमान थिङसहितका व्यक्तिलाई उद्धार गरी त्रिशूली ब्यारेकमा ल्याएको छ। सन्तमान पावर हाउसमा मजदूरको रूपमा काम गर्थे। उनीसँगै काम गर्ने अरू चार जनालाई पनि शनिबार सेनाले उद्धार गरी ब्यारेकमा ल्याएको थियो। यो चार दिनसम्म ढुंगाको कापमा सुतेर रात कटाएको सन्तमानले  बताए। ११११ मा फोन गर्दा उद्धार हुन्छ भनेपछि पटकपटक फोन गरेको तर चौथो दिनमा बल्ल उद्धार भएको उनको गुनासो छ। त्यतिबेला हामी पावर हाउसभित्रै थियौं। एक्कासि बम पड्के जस्तो आवाज आयो। के भएको हो, केही थाहा भएन,’ उनले भने, ‘पावर हाउसमा गेट जस्तो हुन्छ, त्यो पनि पड्कियो। त्यसपछि आँखा देख्न सकिएन। हावा पास भएन। सास फेर्न गाह्रो भयो। कान बन्द भयो। उनका अनुसार यतिबेलासम्म टनेलभित्र कम्मर–कम्मर जति पानी, लेदो तथा गेग्रान आइसेकेको थियो। आत्तिँदै केही मान्छे बाहिर निस्के। एकाएक कहालीलाग्दो अवस्था भयो। केही मान्छे भाग्न सफल भएछन्। म पनि कसरी बाहिर फुत्केछु पत्तै भएन,’ सन्तमान भन्छन्, ‘बाहिर निस्केपछि झनै सात्तो गयो। वरपर पूरै धुवाँको मुस्लो देखिन्छ। ठूलो आवाजमा बाढी कराए जस्तो सुनिन्छ, तर केही देख्न सकिँदैन। बाढी नै हो कि के हो, एकछिन छ्ट्याउनै सकिएन। पछि मुस्लो हट्दै गएपछि बाढी आएको थाहा भयो।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार