काठमाडौं – संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लगायत टोली सहभागी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत पनि जाने परराष्ट्र स्रोतले जनाएको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार बेनका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि जाँदै छन् । त्यस्तै प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारी तथा एक जना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ । परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहित टोली २० सेप्टेम्बरमा न्युयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङमा सहभागी हुनेछन् । प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् भने उनले २४ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने छन् । २४ सेप्टेम्बरका दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म अवधिमा प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभालई सम्बोधन गर्ने स्रोतले जानकारी दिएको छ । सोही दिन महासभालाई संसारका २४ राज्य प्रमुख/सरकार प्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र प्रधानमन्त्री शाहको पालो १७औं नम्बरमा रहेको पनि स्रोतले जानकारी दिएको छ । त्यसो हुँदा महासभामा उनले सम्बोधन गर्ने समय अपराह्न ३ देखि ९ बजेभित्र हुने बताइएको छ । सुरुमा राष्ट्र संघको महासभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने गरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो । तर, रसुवा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह नै महासभामा सहभागी हुन लागेका हुन् । खासगरी रसुवा बाढी जलवायु परिवर्तनको नाकारात्मक प्रभाव स्वरूप आएका कारण नेपालले विश्व समुदायबाट त्यसको क्षतिपूर्ति पाउनुपर्ने विषयलाई प्रधानमन्त्रीले महासभामा उठाउने तयारी गरेको स्रोतले जानकारी दियो । त्यस अवसरमा नेपालले जलवायु परिवर्तन सम्बन्धी विभिन्न साइडलाइन कार्यक्रम पनि राखेको स्रोतले बतायो । तर, ती बैठकमा भने प्रधानमन्त्री सहभागी हुने छैनन् । प्रधानमन्त्री शाह २४ तारिखमा सम्बोधन गरेपछि २५ तारिखमै नेपाल फर्कने पनि स्रोतले बतायो ।साभार : अखप












