काठमाडौं – एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका घटनाहरू डिसेम्बर २०२५ देखि अगस्ट २०२६ सम्मका हुन्। रिपोर्टअनुसार एआईको प्रयोग अब सामान्य प्रश्नोत्तर वा सामग्री तयार पार्ने काममा मात्र सीमित छैन। आक्रमणकारीहरूले एआईलाई लक्ष्य पहिचान गर्ने, सुरक्षा कमजोरी खोज्ने, मालवेयर बनाउने, फिसिङ अभियान चलाउने, चोरी गरिएको डेटा व्यवस्थापन गर्ने र सामाजिक सञ्जालमा नक्कली सूचना फैलाउने काममा समेत प्रयोग गर्न थालेका छन्। एन्थ्रोपिकले आफ्नो रिपोर्टमा एआईको भूमिकालाई ‘सहयोगी’ बाट ‘एजेन्ट’ बन्नतर्फ अघि बढिरहेको बताएको छ। यसको अर्थ- एआईलाई मानिसले लक्ष्य र निर्देशन दिएपछि अनुसन्धान, परीक्षण र अन्य धेरै चरण आफैं सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको छ। कम्पनीका अनुसार पहिले एआईले आक्रमणकारीलाई सुझाव वा कोड उपलब्ध गराउने काम गर्थ्यो। अहिले भने एआई एजेन्ट र मल्टिएजेन्ट सिस्टमले आफैं सूचनाहरू सङ्कलन गर्ने, कामलाई साना भागमा बाँड्ने, विभिन्न प्रणाली परीक्षण गर्ने अनि नतिजा तयार पार्ने काम गर्न थालेका हुन्।
आक्रमणकारीको क्षमता बढाउँदै एआई:
रिपोर्टमा एन्थ्रोपिकले एआईका कारण जटिल साइबर हमला गर्न आवश्यक पर्ने जनशक्ति र प्राविधिक सीपको आवश्यकता घट्दै गएको जनाएको छ। पहिले यस्ता हमला गर्न ठूलो बजेट, दक्ष प्राविधिक जनशक्ति र लामो तयारी आवश्यक पर्थ्यो। अहिले भने एक जना वा सानो समूहले एआईको सहयोगमा पहिले धेरै मानिसले गर्नुपर्ने काम छोटो समयमा गर्न सक्ने अवस्था देखिएको कम्पनीको दाबी छ। एन्थ्रोपिकका अनुसार एआईले साइबर हमलाका लगभग सबै चरणमा आक्रमणकारीलाई सहयोग गरिरहेको छ। यसमा लक्ष्यको प्रारम्भिक अध्ययन, इन्टरनेटमा खुलेका सिस्टम खोज्ने काम, सुरक्षा कमजोरी पहिचान, फिसिङ सामग्री तयार गर्ने, मालवेयर विकास, चोरी गरिएका प्रमाण प्रयोग गरेर प्रणालीभित्र प्रवेश गर्ने तथा डेटा बाहिर पठाउने काम समावेश छन्। कम्पनीले यसलाई ‘एआई सहयोगी साइबर हमला’ मात्र नभई कतिपय अवस्थामा ‘एआई सञ्चालित साइबर अभियान’ भनेको छ। यस्ता अभियानमा मानिसले मुख्य लक्ष्य छनोट गरे पनि बाँकी धेरै काम एआई एजेन्टले स्वचालित रूपमा गर्ने गरेको रिपोर्टमा उल्लेख छ।साभार : अखप











