काठमाडौं – पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ । टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार वर्षा कम हुँदै गएकोले यो तथ्यांक पनि घट्दै गएको हो । यो २४ घण्टाभन्दा अगाडि अझै धेरै वर्षा मापन भएको थियो । ‘यो हिमाली स्टेशन हो । त्यहाँ धेरै वर्षा भएको छ । पछिल्लो २४ घण्टामा २८० मिलिमिटर वर्षा मापन भएको छ’, उनले भने, ‘वर्षा कम हुँदै गएकोले अब केही घट्दै जान्छ । मौसम विज्ञानका अनुसार २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनु नै अति भारी वर्षा हुनु हो । जबकि संखुवासभामा बुधबार बिहानसम्म ३०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको थियो । अहिले घटिरहेको छ । केही दिनदेखि टाँसी गाउँमा ठूलो वर्षा भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। तर, त्यस क्षेत्रमा हालसम्म बाढीपहिरोको घटना नभएको प्रहरीको भनाइ छ । यस्तै, २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ । समाचार तयार पार्दासम्म तनहुँको थाप्रेक केद्रमा १६३.२, स्याङ्जामा १२७.६, गोरखामा ९३, तनहुँकै श्याम्घामा ८६.६ मिलिमिटर वर्षा भएको छ । तनहुँ र स्याङजामा मापन भएको वर्षा धेरै भारी वर्षा हो भने गोरखामा भारी वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।साभार : अखप












