१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला…..

काठमाडौं –     सन् २०१४ को इन्चोन एसियाली खेलकुद। क्वाटरफाइनलमा अफगानिस्तानले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल ८ रनले चुकेको त्यो क्षण नेपाली क्रिकेट प्रशंसकका लागि अझै पनि एउटा नमीठो घाउ बनिरहेको थियो । त्यही एक हारले नेपाललाई पदकको ऐतिहासिक सम्भावनाबाट टाढा धकेलेको थियो । तर, ठीक १२ वर्षपछि एसियाली खेलकुदकै मञ्चमा इतिहास दोहोरिएन, बरु रचियो । एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ । हुन त नेपाल र अफगानिस्तान त्यस वर्ष एसियन गेम्समा खेल्नुभन्दा केही महिनाअघि पनि भिडेका थिए, टी-२० विश्वकपमा । उक्त खेलमा भने नेपाल विजयी भएको थियो । तर एसियन गेम्समा बेहोरेको हार नेपालका लागि पदक यात्रामा अघि बढ्न तगारो बनेको थियो, जसको बदला त लिनु नै थियो र अन्तत: त्यो पूरा पनि भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान नेपाली स्पीन आक्रमणसामु निरिह देखिएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै अफगानिस्तान १०२ रनमै समेटियो । फेसल शिनोजादाले ३३ र अनुभवी नजिबुल्लाह जाद्रानले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले नेपाली बलरविरुद्ध संघर्ष गर्न सकेनन् । नेपालका लागि स्पीनर कुशल भुर्तेलले करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे । दुवैको घातक स्पीन टोलीका सामु अफगानिस्तानको मध्यक्रम पूर्ण रूपमा धराशायी बनेको थियो । १०३ रनको विजयी लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर सहजै पूरा गर्यो । नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। यस्तै, दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिँदै इनिङ्सलाई सम्हालेका थिए । यो जितसँगै नेपालको क्वाटरफाइनल यात्रा बलियो बनेको छ । नेपालले क्वाटरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसको अन्तिम टुंगो भोलि हुने जापानविरुद्धको खेलले लगाउनेछ । नेपालले जापानलाई पराजित गरे समूह विजेता बन्दै क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ । यदि जापानसँग पराजित नै भए पनि (अप्रत्याशित ठूलो अन्तरको हार नभएमा) नेपाल समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा भारतसँग भिड्नेछ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार