काठमाडौं – जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ । नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि क्वाटरफाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ्न सकेन । यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानबीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढेका थिए । अन्तिम क्वाटरफाइनलमा आजै पौने ११ बजे मलेसिया र बंगलादेशबीच खेल हुने तय छ । उक्त खेल पनि वर्षाले रद्द हुने सम्भावना छ ।साभार : अखप












