काठमाडौं – नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा रहेको मौसमविद्ले बताएका छन् । मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको छ । यस वर्षको मनसुन गत ५ असारमा पूर्वी नेपालबाट भित्रिएको थियो । मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन । छिमेकी मुलुक भारतका अधिकांश भू-भागबाट मनसुन बाहिरिसकेको छ । नेपालमा पनि अब पश्चिमी भू-भागबाट मनसुन बाहिरिने तरखर छ । ‘अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन् । यस वर्षको दशैंको घटस्थापना असोज २५ र टीका कात्तिक ४ गते परेको छ । सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु भई अक्टोबर २ मा बाहिरन्छ । यो औसत मितिमा कहिलेकाहीँ सामान्य तलमाथि पनि हुने गरेको छ । यद्यपि मनसुन बाहिरिए पनि सामान्य खालको वर्षा भने दशैंका बेला पनि हुनसक्ने सम्भावना रहेको मौसमविदहरू बताउँछन् । मौसमविद् विनोद पोखरेलले दशैंमा सिमसिमे खालको पानी पर्ने र त्यसले जाडो महसुस हुने सम्भावना रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।साभार : अखप












