काठमाडौं – कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ । निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरेको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि ३५ सय रुपैयाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नाम दर्ता गर्ने प्रतिनिधिहरूलाई कांग्रेसले झोला दिएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।
सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने:
महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता चालिसेले बताए । ‘सात हजार पाँच सयभन्दा बढी प्रतिनिधिहरू यसपटकको महाधिवेशनमा सहभागी हुँदै हुनुहुन्छ,’ उनले भने, ‘जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो हो । शनिबार खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने बताएका छन् । ‘यो अधिवेशन नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा परिणत गर्ने प्रयत्न गर्नेछौं ।
रास्वपा लगायत दललाई निम्तो:
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै प्रतिपक्षमा रहेका नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूलाई आमन्त्रण गरेको छ । यस्तै, छिमेकी मुलुकहरू भारत–चीनसँगै अमेरिकालगायतका आधा दर्जन बढी मुलुकहरूबाट पाहुना आमन्त्रण गरेको छ । तर, उद्घाटन समारोहको तिथि–मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति न्यून रहने सम्भावना रहेको कांग्रेसले जनाएको छ ।
सोमबारदेखि बन्दसत्र:
प्रवक्ता चालिसेले आइतबारको उद्घाटनसत्रपछि सुरु हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने बताएका छन् । सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने उनले जानकारी दिए ।
प्रतिनिधिहरूका लागि होटल ‘बुकिङ’, खर्च आफैं बेहोर्नुपर्ने:
महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल ‘बुकिङ’ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति सदस्य रहेका नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको बताएका छन् । उनका अनुसार कोशी र मधेश प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ । यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले बेहोर्ने बताएको छ । प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ ।साभार : अखप











