सुर्खेत – दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ। उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्याइएको हो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारतर्फ लैजाँदैछन् । त्रिपुरासुन्दरीका विक्रेता शिवानन्द गिरीका अनुसार यसपटक उपभोक्ताको मागलाई ध्यानमा राखेर एक हजारभन्दा बढी च्याङ्ग्रा बजार पुर्याउने लक्ष्य राखिएको छ । ‘हिमाल पार गरेर च्याङ्ग्रा बजारतर्फ लैजाँदैछौँ । उपभोक्ताको मागअनुसार नै च्याङ्ग्रा झार्न थालेका हौं’, उनले भने । उपल्लो डोल्पाबाट च्याङ्ग्रा बजारसम्म पुग्नु आफैंमा सहज यात्रा भने होइन । हिमाली भौगोलिक अवस्थाका कारण लामो दूरी पैदल यात्रा गराउनुपर्ने अवस्था छ । भ्यारोललगायतका हिमाली क्षेत्र पार गर्दै मुस्ताङतर्फ झारिएका च्याङ्ग्रा त्यसपछि पोखरा हुँदै अन्य बजारमा पुग्छन् । यसरी च्याङ्ग्राको यात्रा हिमाली चरन क्षेत्रदेखि उपभोक्ताको भान्सासम्म जोडिन्छ । दशैंको समयमा च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारीले उपल्लो डोल्पाबाट च्याङ्ग्रा संकलन गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्।साभार : अखप











