इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश…..

काठमाडौं –     विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाले उच्चपदस्थ सरकारी अधिकारीहरुको नाम प्रयोग गरेर खुलेको छ । त्यसक्रममा उनले प्रधानमन्त्री बालेन शाह, प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाललाई म्यासेज गरेर विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ परेका सापकोटाको मोबाइल अनुसन्धानका लागि प्रहरी मुख्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । ल्याबले विभागलाई पठाएका विवरणहरुमा विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको नाममा रकम डिपोजिट गर्न गरेको आग्रहदेखि न्यायाधीशसँग गरेको संवादको विवरण समावेश छ । प्रधानन्यायाधीशसँग सम्वन्धित विवरण दियो पोष्ट डटकम र न्यायाधीश फुयाँलसँग सम्वन्धित विवरण नयाँ पत्रिका दैनिकले पहिलोपटक खुलासा गरेका थिए ।

तीन जनाको नाम, दुइटा खाता:

सापकोटाले कुनै व्यक्तिलाई ‘गुड मर्निङ म्याम’ लेख्दै आफ्ना नातेदारको नाममा रकम डिपोजिट गरिदिन भनेका थिए । उनले त्यसका लागि आफ्नो खाता नम्बर आदानप्रदान गरेका थिए । त्यसरी रकम संकलन गरिदिन आग्रह गरेका व्यक्तिहरु निराजन पाण्डे(अमेरिका) र कविता पाण्डे(नेपाल) हुन् । विभागसम्वद्ध स्रोतका अनुसार, कविता सापकोटाकै परिवारका सदस्य हुन् भने निराजन ससुरालीका नातेदार हुन् । ल्याबले विभागमा पठाएको विवरणको त्यही पेजमा प्रधानन्यायाधीश डा. मनोज शर्मा, विश्वराज पोखरेल (ओखलढुंगा) र वंशी दाहाल (आईजी–एपीएफ) (सशस्त्र प्रहरी बलको आईजी भनी उल्लेख भएको छ । नेपाल प्रहरीको एआईजीबाट रिटायर्ड भएका पोखरेल गत निर्वाचनमा ओखलढुंगामा रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सशस्त्र प्रहरी बलका एआईजी बंशी दाहालमाथि सरकारले केही साताअघि निलम्बन गरेर अनुसन्धान थालेको थियो । निलम्बनकै अवस्थामा उनी अवकाश भएका छन् । त्यो विवरणमा अंग्रेजी महिना उल्लेख गरी नोभेम्बरका लागि ५८ हजार ३३३, डिसेम्बरमा ७० हजार र जनवरीमा फेरि ७० हजार भन्ने उल्लेख छ । तीन महिनाको अंक जोड्दा एक लाख ९८ हजार ३३३ हुन्छ । यी तीन वटै शिर्षकमा ८ हजारका दरले कर भनी लेखिएको छ । कर घटाउदा आउने रकम एक लाख ७४ हजार ३३३ भनी उल्लेख छ । त्यो रकम रुपैंया हो कि डलर खुल्दैन ।

नेपालमा कि अमेरिकामा ?

म्यासेजमा पठाइएको विवरणमा रकम जम्मा गर्ने दुईवटा विकल्पहरु दिइएको छ । अमेरिकामा ‘डिपोजिट गरेमा’ भन्ने शर्तमा बैंक अफ अमेरिकामा निराजन पाण्डेको नाममा ७ हजार ५ सय अमेरिकी डलर डिपोजिट गर्नु भनिएको छ । नेपालमा डिपोजिट गर्ने भएमा सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा अमेरिकी डलर ७ हजार ५ सय बराबर हुने नेपाली रकम जम्मा गर्नु भनिएको छ । सापकोटाले कुनै व्यक्तिलाई रकम डिपोजिट गर्न आग्रह गर्दै तीन सार्वजनिक पदाधिकारीहरुको नाम मुछेर पठाएको म्यासेजवारे अनलाइनखबरले तीनजना व्यक्तिसँग प्रतिक्रियाका लागि अनुरोध गरेको थियो । अनलाइनखबरले बारम्बारको फोन र म्यासेज गर्दा प्रधानन्यायाधीश डा. मनोज शर्मा सम्पर्कमा आउन चाहेनन् । उनले म्यासेजको जवाफ पनि दिएका छैनन् । रास्वपा सांसद विश्वराज पोखरेलले आफूले इनम सापकोटालाई नचिन्ने र उनीसँग आफ्नो कुनै सम्बन्ध समेत नभएको प्रतिक्रिया दिए । यस्ता कलंकित व्यक्तिहरुले क–कसको नाम मुछेका छन्, त्यो अलग कुरा भयो’ नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरिक्षक (एआईजी) समेत रहेका पोखरेलले अनलाइनखबरसँग दाबी गरे, ‘मैले इनम भन्ने मान्छेलाई चिन्दा पनि चिन्दिन । सम्पर्क हुने टाढाको कुरा भयो । म जस्तो मान्छे यस्ताको पछि लाग्ने कुरै भएन । हालै अवकाश पाएका शसस्त्र प्रहरी बलका निवर्तमान एआईजी दाहाल पनि अनलाइनखबरको सम्पर्कमा आउन र प्रतिक्रिया दिन चाहेनन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार