युक्रेनमा रुसको भीषण आक्रमण…..

काठमाडौं –   सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ । युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेवाको रिपोर्टका अनुसार यी आक्रमणमा सर्वसाधारणको समेत ज्यान गएको खबर छ । अधिकांश विश्लेषकहरू क्राइमियाको पुलमा क्षति पुर्‍याएपछि रुसले अहिले त्यसको बदला लिइरहेको छ । आइतबार राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा आक्रमणको लागि युक्रेनको गुप्तचरलाई दोष दिएका थिए । युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार रोस्टिस्लाभ स्मिर्नोभले बिहान १० बजेसम्म आठ जनाको मृत्यु भएको र २४ जना घाइते भएको बताए । किभका मेयर भिटाली क्लिट्स्कोले रुसी क्षेप्यास्त्रहरूले महत्त्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाएको बताए। भिडियो फुटेजमा कीभको खेल मैदान नजिकै विस्फोट भएको देखाइएको छ। कीभका सबै मार्गहरूमा मेट्रो सेवाहरू निलम्बित गरिएको छ। बम आक्रमणबाट बच्न मेट्रो शेल्टरलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरिँदैछ। युक्रेनका अन्य सहरबाट पनि विस्फोटको आवाज सुनिएको छ । नीप्रो र डनेप्रोपेट्रोव्स्क क्षेत्रका प्रशासक भ्यालेन्टिन रेज्निचेन्कोले आफ्नो क्षेत्रमा ठूलो क्षेप्यास्त्र आक्रमण भएको बताए। ल्वीव क्षेत्रका पावर स्टेशनहरूलाई लक्षित गरिएको छ। त्यहाँ उपस्थित बीबीसी पत्रकारहरूले भीषण विस्फोटको आवाज सुनेको र विद्युत सेवा अवरुद्ध भएको पुष्टि गरेका छन्। झाइतोमिर क्षेत्रमा पनि पावर स्टेशनहरू लक्षित गरिएको रिपोर्टहरू छन्। स्थानीय अधिकारीहरूले मानिसहरूले पावर ब्याकअप प्रयोग गरिरहेको बताए। विद्यालयहरू बन्द भएका छन् । यस्तै रिपोर्टहरू खार्किभ, क्रेमेनचुग, पोलतावा जस्ता क्षेत्रहरूबाट पनि आइरहेका छन्।

पुटिनको चेतावनी:

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बिहान युक्रेनका विभिन्न स्थानमा आक्रमण भएको पुष्टि गरेका छन् । एक भिडियो सम्बोधनमा पुटिनले रुसको लामो दुरीका क्षेप्यास्त्रले युक्रेनको ऊर्जा, सैन्य र सञ्चार सुविधालाई निशाना बनाएको बताए। पुटिनले रूसी क्षेत्रमा हुने कुनै पनि ‘आतंकवादी’ गतिविधिलाई कडा’ जवाफ दिइने कुरा दोहोर्‍याए । एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार