इरानसँगको युद्ध अन्त्य हुनेमा ट्रम्प प्रशासन आशावादी…..

वासिङ्टन डीसी-      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी युद्ध अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको छ। फेब्रुअरीको अन्त्यतिर इजरायलसँग मिलेर सुरु गरिएको यो युद्ध अब लगभग अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी छ। यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरूलाई भने अझै खुकुलो पारेको छैन। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पाकिस्तानको मध्यस्थतामा भइरहेका कुराकानीहरू सकारात्मक र जारी रहेको बताउँदै छिट्टै सहमति हुनेमा विश्वास व्यक्त गरेकी छन्। अमेरिकाले इरानलाई घुँडा टेकाउन ‘पश्चिम एसिया’ मा नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ। ट्रेजरी सचिव स्कट बेसेन्टले इरानी तेल किन्ने मुलुकहरू, विशेष गरी चीनमाथि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्। चीनले इरानको ८० प्रतिशतभन्दा बढी तेल खरिद गर्दै आएकोमा अब अमेरिकी नाकाबन्दीका कारण त्यसमा पूर्ण विराम लाग्ने बेसेन्टको दाबी छ। उनले इरानले वित्तीय क्षेत्रमा पनि त्यस्तै क्षति व्यहोर्नुपर्ने बताए जस्तो क्षति अमेरिकी र इजरायली हवाई आक्रमणबाट उसको सैन्य संरचना र नेतृत्वले भोगेको छ। अमेरिकाले यसअघि तेलको मूल्य नियन्त्रण गर्न दिएका कयौँ छुटहरू पनि अब नवीकरण नगर्ने स्पष्ट पारेको छ। यसैबिच, युद्धविराम र शान्ति वार्ताका लागि पाकिस्तानले सक्रिय भूमिका खेलिरहेको छ। अघिल्लो चरणको वार्ता कुनै ठोस निष्कर्ष बिना टुङ्गिएपछि पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर बुधबार तेहरान पुगेका छन्। उनले दुवै पक्षबिच रहेका असमझदारी कम गर्ने प्रयास गर्नेछन्। इरानी विदेशमन्त्री अब्बास अराक्चीले मुनिरलाई स्वागत गर्दै इरान क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध रहेको बताएका छन्। यदि वार्ता सफल भएमा इरानले ओमानतर्फको समुद्री मार्गबाट जहाजहरूलाई सुरक्षित आवतजावत गर्न दिने प्रस्ताव समेत अघि सारेको छ। युद्धका कारण विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज स्ट्रेट अहिले लगभग ठप्प जस्तै छ। अमेरिकी सैन्य नाकाबन्दीको सुरुवाती ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहबाट बाहिरिन वा भित्रिन सकेका छैनन्। नौ वटा जहाजलाई अमेरिकी सेनाले बिचैबाट फर्काइदिएको छ। यता इरानले भने यदि नाकाबन्दी नहटेमा खाडी क्षेत्र, ओमानको खाडी र लाल सागरमा हुने व्यापारिक आवागमन नै रोकिदिने चेतावनी दिएको छ। राष्ट्रपति ट्रम्पले पनि धम्कीपूर्ण भाषामा इरानका सबै पुल र पावर प्लान्टहरू एकै घण्टामा ध्वस्त पारिदिन सक्ने तर आफू त्यसो गर्न नचाहने बताएका छन्। शान्ति वार्तामा इरानको परमाणु कार्यक्रम र लेबनानको स्थिति मुख्य बाधक बनेका छन्। अमेरिकाले इरानको परमाणु गतिविधि २० वर्षका लागि निलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ भने इरान ३ देखि ५ वर्षका लागि मात्र तयार देखिएको छ। यसबाहेक, इजरायलले लेबनानमा हिजबुल्लाहमाथि गरिरहेको आक्रमणलाई पनि इरानले युद्धविरामको उल्लङ्घन भनेको छ, जबकि अमेरिका र इजरायलले यसलाई छुट्टै विषय मान्दै आएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको युद्धका सन्दर्भमा इजरायल जुनसुकै परिस्थितिका लागि तयार रहेको बताएका छन्।एजेन्सीएजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार