काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो । २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो । २९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो । विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो ।साभार : अखप












