शंकाको घेरामा पासपोर्ट छपाइको ठेक्का…..

काठमाडौं –     नेपालको राष्ट्रिय पहिचान, नागरिकको व्यक्तिगत डाटा र अत्यन्त संवेदनशील सुरक्षासँग जोडिएको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ परियोजनामा ठुलो परिमाणमा कर छली हुनसक्ने तथ्य बाहिरिएको छ । ठेक्का प्राप्त गर्ने फ्रान्सेली कम्पनी आईडीईमिया, सिंगापुरमा दर्ता रहेको क्यापिटल बिज सोलुसन र नेपालमा सञ्चालित डेल्टा कोर प्राइभेट लिमिटेडबिचको शंकास्पद त्रिकोणात्मक व्यावसायिक सम्बन्धले यस परियोजनामा राज्यलाई करोडौंको नोक्सानी भएको आशंका उब्जाएको हो । यो प्रकरणले नेपालको सार्वजनिक खरिद प्रक्रियामा बिचौलियाहरूको दबदबा कति शक्तिशाली छ भन्ने समेत प्रस्ट्याएको छ ।

यस्तो छ कर छली र पुँजी पलायनको सम्भावना:

अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया र नेपालको सार्वजनिक खरिद ऐनअनुसार नेपालमा काम गर्ने विदेशी कम्पनीले आफ्ना स्थानीय एजेन्ट र उनीहरूलाई दिइने कमिसनको रकम पारदर्शी रूपमा खुलाउनुपर्छ । त्यस्तो कमिसन नेपालकै बैंकिङ प्रणाली मार्फत आउनुपर्छ र त्यसमा नेपाल सरकारले नियमअनुसार कर असुल गर्न पाउँछ । तर पासपोर्ट छपाइको यस परियोजनामा बिचौलियाहरूले नेपालको कर प्रशासन र नियामक निकायको आँखा छल्न अफसोर कम्पनीमार्फत कारोबार गरेका छन् । नेपालमा आउनुपर्ने कमिसनको ठुलो रकम नेपाल नल्याई सिंगापुरमा दर्ता गरिएको कम्पनीमार्फत उतै भुक्तानी लिने गरिएको छ । यसले एकातिर नेपाल भित्रिनुपर्ने विदेशी मुद्रा बाहिरै रोकिएको छ भने अर्कोतिर राज्यले पाउनुपर्ने ठुलो राजस्व गुमाएको छ ।

एउटै मालिकको सञ्जाल, कमिसन सिंगापुरमा:

प्राप्त कागजात र विवरणहरूको मिहिन अध्ययन गर्दा एउटै गिरोहले दुईतिर कम्पनी खडा गरेर कसरी राज्यको ढुकुटीमा तर मारिरहेको छ भन्ने प्रस्ट हुन्छ । फ्रान्सेली कम्पनी आईडीईमियाले राहदानी छपाइको ठेक्का पाइसकेपछि कमिसन बापतको मोटो रकम सिंगापुरमा दर्ता भएको क्यापिटल बिज सोलुसनलाई भुक्तानी गर्दै आएको छ । सिंगापुरस्थित कम्पनी दर्ता गर्ने नियामक निकाय (एसीआरए) को तथ्यांकअनुसार उक्त कम्पनीका मालिक ५ जना नेपाली नागरिक हुन् । सबैभन्दा उदेकलाग्दो र शंकास्पद कुरा के छ भने तिनै ५ जना नेपाली नागरिक नेपालमा रहेको डेल्टा कोर प्राइभेट लिमिटेडका पनि सञ्चालक हुन् । पासपोर्ट परियोजनाको मर्मत सम्भार र प्राविधिक सहयोगका लागि फ्रान्सेली कम्पनीले नेपालको यही डेल्टा कोर कम्पनीलाई सहायक ठेकेदार बनाएको छ । यसको भित्री खेल नेपालमा रहेको डेल्टा कोर कम्पनीले निकै न्यून आम्दानी देखाएर नेपालमा नाममात्रको कर तिर्ने र कमिसनको मुख्य हिस्सा भने क्यापिटल बिज सोलुसन सिंगापुरमार्फत विदेशमै लिने हो । क्यापिटल बिज सोलुसन नेपालमा आईडीईमियाको आधिकारिक एजेन्टका रूपमा दर्ता समेत नभएकाले यो हुन्डी वा सम्पत्ति शुद्धीकरणको गम्भीर विषय बन्न पुगेको छ । यसरी सिंगापुरमा जम्मा भएको रकम हङकङस्थित अर्को शंकास्पद संस्थामार्फत अन्यत्रै स्थानान्तरण गर्ने गरिएको सूचना समेत अनुसन्धानकारी निकायहरूमा पुगेको छ ।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार