काठमाडौं – जननिर्वाचित प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी भएको भन्दै विपक्षी दलहरूले बारम्बार प्रश्न उठाएपछि सांसदहरूको जवाफ दिन बालेन्द्र शाह आइतबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेका थिए । संसद्को नियमावलीमा भएको प्रश्नोत्तरको प्रावधानभन्दा बाहिरबाट सांसदहरूले सोधेका सबै खाले प्रश्नको स्वस्फूर्त जवाफ दिनेगरी रोस्ट्रममा गएका प्रधानमन्त्री नेपाल-भारत सीमाको गम्भीर विषयमा हल्का अभिव्यक्ति दिएपछि विवादमा परेका छन् । उनले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति संसद्को रोस्ट्रमबाट दिए । जुन नेपालका यो भन्दा अघिका कुनै पनि प्रधानमन्त्रीले दिएका अभिव्यक्ति भन्दा विल्कुल फरक थियो । सीमा र परराष्ट्र मामिलाका जानकारहरूका अनुसार कुनैपनि देशको प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर अर्को देशको भूमि मिचेका छौं भन्ने अभिव्यक्ति दिनु आश्चर्यजनक कुरा हो । रास्वपाकै सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्बाटै आएको हो । प्रधानमन्त्री बालेनले कुन प्रसंगमा कसरी यो अभिव्यक्ति दिए त ? सुरुमा यो प्रसंगतर्फ लागौं । संसद्मा एमाले सांसद पद्मा अर्यालले लिम्पियाधुरा लिपुलेको विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेकी थिइन् । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री बालेनले भारत र चीन मात्र होइन सीमा विवादमा ‘इंग्ल्याण्ड’को प्रसंग पनि उप्काए । दुइटै सरकारले आफ्ना इतिहासविद्हरु राखेर आफ्ना सर्भेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरु राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा खेरि यसमा चाहिँ इंग्ल्याण्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो,’ प्रधानमन्त्री बालेनले भने,’यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु । त्यसपछि प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि लिम्पियाधुरा,लिपुलेकको प्रसंगमा प्रधानमन्त्रीप्रति प्रश्न गरे । यो प्रश्नको जवाफ दिने क्रममा चाहिँ प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको कुरा गरे ।साभार : अखप












