रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्‍घाटन गर्ने…..

चितवन –      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ ।प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ,’ प्रवक्ता झाले भने, ‘राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । १५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा एक महिला अनिवार्य रास्वपाले महाधिवेशनमा पेस गर्ने विधान संशोधन र पार्टीको संरचनासमेत संशोधन गरिसकेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो । एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन । विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् । प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।

५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न पाउने:

यस्तै, विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ । बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल जारी छ । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति सदस्य चयन हुनेछन् । पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।

महाधिवेशनले भावी राजनीतिक रणनीति तय गर्ने:

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उनको भनाइ छ । ‘हामीले टोलस्तरमा पनि पार्टी संगठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ,’ उनले भने, ‘हाम्रो भ्रातृ संगठन भने हुँदैन ।’

झण्डै चार हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने:

महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य संख्या पाँच लाख पुर्‍याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै, ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार