मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना…..

काठमाडौं –       मौसमविदले लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना रहेको जनाएका छन् । मनसुन नेपाल भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ । कम्तिमा बिहीबारसम्म उल्लेखनीय वर्षा नहुने अनुमान गर्दै मौसमविद उज्वल उपाध्याय भन्छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरुमा वर्षाको सम्भावना अत्यन्त न्यून र गर्मी धेरै हुने सम्भावना छ ।’ काठमाडौं उपत्यकामा पनि बुधबार र बिहीबार सुक्खा हुने सम्भावना रहेको उनको भनाइ छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ । यस वर्षको मनसुन सरदरभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते कोशी प्रदेशमा भित्रिएको थियो । असार ८ गते मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको थियो । तर मनसुन कमजोर अवस्थामा रहेकाले उल्लेख्य वर्षा हुन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार