चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती…..

जनकपुरधाम-       जनकपुरधाम-भिठामोड सडकखण्डअन्तर्गत कुटमेश्वरी पुलको निर्माण कार्यमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधन दैनिक सास्ती खेप्न बाध्य भएका छन् । करिब २० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुल चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा आवतजावत जोखिमपूर्ण बनेको हो । वर्षायाम सुरु भएसँगै सो सडकखण्डको यात्रा कष्टकर भएको हो । भारतसँगको व्यापारिक आवागमनका लागि समेत यो सडक महत्त्वपूर्ण मानिन्छ । महोत्तरी गाउँपालिकाअन्तर्गत पर्ने कुटमेश्वरी पुलको निर्माण कार्य अझै अधुरै रहेकाले स्थानीयवासी, विद्यार्थी, बिरामी, दैनिक यात्रु तथा व्यवसायी वैकल्पिक तथा जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । सामान्य वर्षा हुँदा सडक हिलाम्मे हुने, सवारीसाधन फस्ने र आवागमन नै प्रभावित हुने गरेको स्थानीयको गुनासो छ । महोत्तरी गाउँपालिका, पर्साका स्थानीय आशुतोष ठाकुरले करिब चार वर्षदेखि पुल निर्माणको अवस्था उस्तै रहेको बताए । उनका अनुसार विभिन्न समयमा निर्माण सम्पन्न नगरी म्याद मात्रै थप्ने काम भइरहेको छ । भिठामोड–जनकपुर भन्सारबाट बर्सेनि ठुलो परिमाणमा राजस्व सङ्कलन हुन्छ, तर यति महत्त्वपूर्ण सडकको पुल निर्माणमा सरोकारवाला निकायले चासो नदिनु अनौठो रहेको ठाकुर बताउँछन् । त्यस्तै पिपरा गाउँपालिका–२ का संजयकुमार मिश्रले पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले दैनिक दुःख पाएको बताए । ‘पुल निर्माणमा भएको ढिलासुस्तीले आउजाउ गर्न निकै असहज छ । अब वर्षायाम पनि सुरु भइसकेको छ । यस्तो अवस्थामा दुर्घटना हुने, मानिसको ज्यानसमेत जाने जोखिम बढेको छ । यहाँ प्रभावकारी वैकल्पिक बाटो पनि छैन । यो ठेकदारको लापर्वाही र सरकारको कमजोर निगरानीको परिणाम हो,’ उनले भने । पुल निर्माणमा भएको ढिलाइको असर स्थानीयमा मात्र सीमित छैन । भारतबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारीसाधन, भ्रमण गर्न आएका ठुला यात्रु बाहक बससमेत घण्टौँ अलपत्र पर्ने गरेका छन् । मालसामान बोकेर आएका ट्रक रोकिँदा चालक, व्यवसायीलाई नोक्सान हुनेमात्र होइन, आपूर्ति प्रणालीसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार निर्माण कम्पनीको पटक–पटक ध्यानाकर्षण गराइए पनि कामको गति बढ्न सकेको छैन । सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको र पटक–पटक म्याद थपेर निर्माण कम्पनीलाई संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार बजेट अभावका कारण पुल निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन । सोही कारण पटक–पटक निर्माण अवधि थप्नु परेको उनले बताए । वर्षायाम सुरु भएसँगै नयाँ निर्माणाधीन पुलको छेउमा रहेको पुरानो पुललाई डाइभर्सनका रूपमा प्रयोग गरिँदै आएको छ । माटो भरेर डाइभर्सन सञ्चालन गरिए पनि वर्षाका कारण हिलो हुँदा सवारीसाधन फस्ने क्रम बढेको छ । यता हुलाकी सडक निर्देशनालयका साइट इन्जिनियर विकास साहले निर्माणस्थलमा दुई वटा एस्काभेटर, एक जेसीबी र दुई वटा टिप्पर स्ट्यान्डबाइ राखिएको बताए । उनका अनुसार वर्षाका कारण भरिएको माटो हिलाम्मे भएकाले अहिले उक्त स्थानमा र्‍याबिस (ढुंगामाटो) हालेर बाटो सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । जलेश्वर नगरपालिका–२ का नागरिक समाजका अगुवा संजीव झाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि निर्माण कम्पनीले कामको गति नबढाएको गुनासो गरे । उनका अनुसार पटक–पटक म्याद थप्ने तर काम नगर्ने ठेकदारमाथि प्रभावकारी कारबाही नगरेका कारण सम्बन्धित निकायसमेत शङ्काको घेरामा परेको छ । यात्रुहरूले पनि ठेकदार कम्पनीलाई थप समय उपलब्ध गराउनुको सट्टा हालको समयसीमाभित्रै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले कडा दबाब दिनुपर्ने माग गरेका छन् । सामान्य वर्षा हुँदा समेत उक्त क्षेत्रमा आवागमन कठिन हुने गरेको उनीहरूको भनाइ छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार